श्रीमान् विदेशिएका महिलाका आवश्यकता


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

– प्रतिमा सिलवाल-
हिंसामा परेकी एक महिलाबारे जानकारी लिन अघिल्लो साता जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपीलाई सम्पर्क गरेको थिएँ । ‘हिजोआज त महिलाले पुरुष हिंसा गरेका घटना उजुरीमा आउँछन्’ मेरो प्रश्न पूरा हुन नपाउँदै डीएसपी सापले श्रीमान् वैदेशिक रोजगारीमा गएपछि सम्पत्ती उडाएर उहाँकै भाषामा बिना प्रसंग ‘बिग्रिएकी’ महिलाको कहानी सुनाए ।

श्रीमानले पठाएको रकम अर्कै केटासँग लागेर सिध्याएको । त्यो कुरा समाजले थाहा पाएको । अहिले परिवार र समाजले घरमा बस्न नदिएको ……. यस्तै यस्तै ।

हिजोआज महिला हिंसाका विषयमा छलफल गर्दा सबैभन्दा पहिले चर्चा हुन्छ, ‘रगत पसिना काढेर विदेशमा काम गरेका श्रीमान्लाई महिलाले हिंसा गर्ने गरेका छन् । पुरुष पीडा कम छन् र ? महिला कम मात्तेका छन् ?’

विशेषतः हिंसाको बढी उजुरी सुनिने ठाउँ प्रहरी कार्यालय, महिला आयोग, महिला अधिकारकर्मीहरूको भेला लगायतका ठाउँमा यस्तो चर्चा बढ्न थालेको छ । तर, समस्याको जड के हो ? हामी गहिराइमा पुग्दैनौं । उल्टो महिलालाई दोषी प्रमाणित गर्न मात्रै उद्दत हुन्छौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत मनोचिकित्सक डाक्टर सगुन बल्लभ पन्तको दृष्टिकोणमा ‘वैदेशिक रोजगारीमा रहेका पुरुषको परिवारका महिलामा आउने यी समस्यामा महिलालाई ‘दोषी ठहर’ गर्ने प्रवृत्ति पुरुषवादी सोचको उपज मात्रै हो ।’

भारतमा सन् १८१५ को अंग्रेज शासनका बेला ब्रिटिश इष्ट इण्डिया कम्पनीले नेपालीलाई सैनिकमा भर्ती गर्न हालको पाकिस्तानको लाहोरमा लगेर तालिम दिए पश्चात यहाँ ‘लाहुरे’ संस्कृति भित्रिएको मानिन्छ ।

त्यतिबेला ‘लाहुरिनी’ का कथा व्यथा कति लेखिए कति लेखिएनन् । तर, अबका घर धान्ने, दोहोरो बोझ उठाउने महिलाका कथा लेखिनुपर्छ । ‘घर बिगार्ने आइमाई’ उपमा दिने मात्रै होइन महिलाका दृष्टिबाट उनीहरूको आवश्यकता र अवस्थाको पनि सुक्ष्म विश्लेषण गरिनुपर्छ ।

सशस्त्र द्वन्द्वयता भने नेपालीहरू कामदारको रुपमा विदेशिने क्रम बढ्यो । यो क्रम बढेर अहिले मासिक औसत २६ हजारको हाराहारीमा श्रम स्वीकृति लिएर कामदारको रुपमा विदेशिने पुरुषहरूको संख्या रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।

वैदेशिक रोजगारीको लागि देश छोड्ने लहरसँगै आएको बाइप्रोडक्ट हो पारिवारिक विखण्डन । पारिवारिक विखण्डनको दोषी महिला मात्रै हो त ? समूहमा, चिया गफमा महिलाको चरित्र हत्या गरेर मात्रै यो समस्या सुल्झिएला त ?

यी हुन् कारक

वैदेशिक रोजगारीमा गएका व्यक्तिका पारिवारिक विखण्डनको कारकमा तीन पक्ष महत्वपूर्ण हुन्छ । डा. पन्त भन्छन्, ‘कच्चा सम्बन्ध, थप जिम्मेवारी र पुरुषवादी समाजको सोच पारिवारिक विखण्डनका प्रमुख कारक हुन् ।’

कच्चा सम्बन्ध

सामान्यतया २० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिला सुरु हुन्छ । विवाहपछि पुरुषहरू ‘४० कटेसी रमाउँला’ भन्दै विदेशिने क्रम सामान्य जस्तै भइसक्यो ।

केटो विदेश गएको छ भनेपछि ‘छोरी पाल्छ’ भनेर विवाह गरिदिन अभिभावक मरिहत्ते गर्छन् । विहेको दिन वा महिना दिनमै पुरुष विदेशिन्छन् । धेरैजसो वैदेशिक रोजगारीमा गएका श्रीमान् श्रीमतीको एक आपसमा रत्तिनै (एक अर्काको सोच विचार बुझेर भावना आदान–प्रदान गर्न सक्ने) पाएका हुँदैनन् । एक अर्कालाई चिन्नै पाएका हुँदैनन् । आनीबानी हाउभाउ बुझ्नै पाएका हुँदैनन् । सम्बन्ध नै कच्चा भएपछि वर्षौंसम्म एउटी महिलाले मात्रै कसरी सम्बन्ध टिकाइराख्न सक्ली ?

थप बोझ

वैदेशिक रोजगारीमा श्रीमान् गएपछि जिम्मेवारीको बोझ महिलाको काँधमा सर्छ । हिजोसम्म श्रीमान्को भरमा चलेको घर महिलाले धान्नुपर्छ, धानेका छन् । श्रीमान्ले निभाएको सामाजिक, आर्थिक सम्बन्धहरू महिलाले नै चलाउनुपर्छ ।

घरको कार्यबोझ बढ्ने त छँदैछ । छोराछोरीको रेखदेख, सासूससुराको हेरचाह गर्ने जिम्मेवारी पनि महिलाले गर्नुपर्ने नै भयो । एक किसिमले भन्दा विवाह पछि श्रीमान्को घरमा बिना पारिश्रमिकको मजदुर झैं भूमिकामा महिला हुन्छिन् ।

कतिपय अवस्थामा श्रीमान्ले घर चलाउने खर्च पनि महिलालाई नदिएको अवस्था छ । सासूससुराको खातामा गएको रकम महिलाले भोगचलन गर्न पाउँदिनन् । समाजमा चाहिँ ‘विदेशमा श्रीमान् भएकी’ भन्ने दृष्टि हुन्छ । भित्र उनी खोक्रो । यो खोक्रोपनको बन्धनभित्र महिलाले कति समय जीवन गुजार्ने ?

कुदृष्टि

नेपाल समाज पितृसत्ताबाट निर्देशित छ । श्रीमान् श्रीमती, दाजुभाईसँगै रहेको परिवारमा त श्रीमती, दिदीबहिनी असुरक्षित छन् । कतै आफन्तबाटै त कतै अन्य पुरुषबाट हिंसाको सिकार महिला नै हुनुपरेको छँदैछ ।

श्रीमान्, परिवारको पुरुष सदस्य छैन भनेपछि त यसै महिलामाथिको कुदृष्टि बढ्छ नै । अर्थविद् डा. दीपेन्द्रबहादुर क्षेत्री महिलासँग पैसा छ भनेपछि कुदृष्टि राख्ने पुरुषको संख्या झनै बढ्ने बताउँछन् । पुरुष छैन भनेपछि त झनै महिलासँग लहसिन खोज्ने पुरुषको नियत महिलाले बुझ्न जरुरी भएको डा. क्षेत्री ठान्छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा २५ प्रतिशतको हाराहारीमा घरमूली महिला छन् । बाँकी ७५ प्रतिशत महिला घरको मूली भएर बसेकै छैनन् । ती महिलाले परिवारको पुरुष सदस्यको सहारा नभइ घर चलाएको अनुभव नै हुँदैनन् । श्रीमान विदेश हिँडेको भोलिपल्ट देखि नै उनीहरू पुरुषको सहयोग लिन बाध्य हुन्छन् । ती महिलालाई रेमिटान्स झिकिदिने नाममा, बैंकसम्म पुर्‍याइदिने नाममा, छोराछोरीको स्कूल लगिदिने नाममा यस्तै यो वा त्यो बहानामा सहयोगको नाममा फाइदा लिने पुरुष नै हुन्छन् । अनि उनीहरूको चरित्रमा प्रश्न गर्ने तिनै अगाडि हुन्छन् ।

अब महिलाले सबैभन्दा धेरै टिप्पणी सुन्नुपर्ने विषयमा चर्चा गरौं ‘महिलाको चरित्र’ । विशेष गरेर श्रीमान वैदेशिक रोजगारीमा गएका परिवारबाट दैनिक १० जनाको हाराहारीमा महिला त्रिवि शिक्षण अस्पतालमा मानसिक समस्या लिएर पुग्ने रहेछन् । डा. पन्तका अनुसार तिमध्ये २/३ जना कडा मानसिक समस्याबाट गुज्रिएका हुन्छन् । विशेष गरेर त्यस्ता महिलाले परिवारबाट शारीरिक र मानसिक हिंसा भोगेका हुन्छन् ।

भर्खरै विहे भएर श्रीमान् विदेशिएको महिला जो शारीरिक, मानसिक मायाको अभावमा विक्षिप्त छे । उसको अधिकार रेमिटान्सबाट भित्रिएको रकमको पछाडि सँधै नगण्य हुन्छ । महिलाको नैसर्गिक आवश्यकतालाई नैतिकताको कसीमा कहिलेसम्म बाँधिराख्ने ?

एक स्वस्थ मानवलाई जसरी गाँस, बास कपासको आवश्यकता पर्छ त्यसैगरी चाहिने अर्को प्रमुख तत्व हो यौन । भलै चिकित्सा विज्ञानले यौन आवश्यकता व्यक्ति अनुसार फरक–फरक हुने बताउँछ । महिला पुरुष दुवैको यौन आवश्यकता त हुने नै भयो । प्रश्न यति हो उनीहरूले आफ्नो प्राकृतिक आवश्यकता कसरी पूरा गर्छन् ।

वैदेशिक रोजगारीमा गएका पुरुषले आफ्नो यौन चाहना कसरी पुरा गरेका छन् ? के रोजगारीमा विदेश गएको लोग्ने जति वर्ष विदेश बसेपनि पनि कुनै महिलासँग सेक्स नगरेरै बस्छ ? वा घर फर्केर श्रीमतीसँगै यौन तृष्णा मेटाउछु सोचेर पत्नीव्रता भएर फर्किन्छ ? वा उसले कसरी आफ्नो जैविक आवश्यकता पूरा गर्छ ? समाजमा विदेशिएका श्रीमानका बारेमा कसैले प्रश्न गरेको छ ?

श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलालाई चाहिने यौन आवश्यकताको विषयमा मात्रै किन यति धेरै चर्चा ? यस्ता चर्चा गर्न थाल्यो । बहस चलाउन एउटी महिलाले खोजी मात्रै भने चरित्रहिन त ठहरिन्छे नै । यस्ता प्रश्न सँधै नैतिकता र चत्रिको पगरीभित्र लुकाएर राख्ने कि अब खुलेर चर्चा गर्ने त !

भर्खरै विहे भएर श्रीमान् विदेशिएको महिला जो शारीरिक, मानसिक मायाको अभावमा विक्षिप्त छे । उसको अधिकार रेमिटान्सबाट भित्रिएको रकमको पछाडि सँधै नगण्य हुन्छ । महिलाको नैसर्गिक आवश्यकतालाई नैतिकताको कसीमा कहिलेसम्म बाँधिराख्ने ?

महिलाको प्राकृतिक आवश्यकतालाई हामी सेक्ससँग मात्रै जोडेर पनि हेर्छौं । एउटी महिलालाई आफ्ना कुरा गोपनियताका साथ सुनिदिने साथी चाँहिदैन ? स्वभावैले महिला कोमल हुन्छन् । उसलाई भावनात्मक सम्बन्ध राख्ने साथी चाहिन्छ । तर, हप्ता महिनामा श्रीमान्सँग गरेको हाइ हेल्लोले पर्याप्त होला त ? उभित्रको न्यास्रोपन केवल सेक्सको लागि मात्रै होला त ? कि सम्बन्धको लागि होला !

समाधान के हो त ?

यसको समाधान डाक्टर पन्तले दिएका छन्– महिलाले सकेसम्म आफ्ना समस्या आवश्यकता श्रीमानसँग राख्ने । श्रीमानले श्रीमतीसँग बारम्बार सञ्चार सम्पर्क गर्ने र सम्भव भएसम्म उनका कुरा सुन्ने । बाहिरका व्यक्तिको कुरा सुनेर श्रीमतीप्रति धारणा नबनाउने गरौं ।

परिवारका सदस्यले पनि बुहारीलाई काम गर्ने व्यक्तिको रुपमा मात्रै लिनु हुँदैन । उसका आवश्यकताहरू बुझिदिने, शंकाको दृष्टिले नहेरौं । अहिले इन्टरनेटको जमाना छ । आफूमा भएको समस्या इन्टरनेटमा खोजेर पनि समाधान गर्न सकिन्छ ।

श्रीमानसँग कुरा भएको समय पर्याप्त नहुन सक्छ । त्यस्तो बेला महिलाले आफूजस्तै श्रीमान् विदेशिएका महिलाको सञ्जाल निर्माण गर्न सक्छन् । आफ्ना समस्या खुलेर आफूजस्तै साथीहरूसँग राख्न सक्छन् । समस्या समाधानको लागि साथीको सुझाव महत्वपूर्ण हुन सक्छ ।

अब एकपटक आफ्नै वरपर फर्कऔ । तपाईंको घरबाट वैदेशिक रोजगारीमा छन् । पल्लो, तल्लो, माथिल्लो घरबाट एक न एक जना पुरुष सदस्य रोजगारीमा बाहिर छन् । आज माथिल्लो घरकी महिलाले भोगेको चरित्र हत्या भोलि तपार्इंको परिवारको महिलालाई पक्कै आउँछ ।

के कुनै पुरुषलाई चरित्रहिनको ट्याग लगाइदिदा उ खुसी हुनसक्छ ? यस्तो कुराले मानसिक रुपमा उ विक्षिप्त हुन्छ कि हुन्न ? के पुरुषको चरित्र हुँदैन ?

त्यसैलेः अब वैदेशिक रोजगारीमा श्रीमान् गएका महिलाका ‘चरित्र’को टिप्पणी गर्ने मात्रै होइन । उनीहरूको वैयक्तिक आवश्यकताको विश्लेषण गर्ने, त्यसलाई सामाजिकीकरण गर्दै समाजमा सम्मानित जीवन जीउने वातावरण सिर्जना गर्न ढिला नगरौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com