नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

–सीता शर्मा–

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकाले बाल विवाह मुक्त नगरपालिका बनाउने अभियान सुरु गरेको छ । बर्दघाट नगरपालिकालाई देशकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा गर्ने अठोटका साथ अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

अभियान अन्र्तगत छोरीका लागि स्वर्णीम देश बनाउने अभियानमा लागेकी अभियन्ता रेखा थापा र जीवन प्रशिक्षक नरबहादुर कार्कीको उपस्थिीतीमा बुधबार जागरण कार्यक्रम समेत गरियो ।

नवलपरासीको बर्दघाट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नायिका तथा बालविवाह विरुद्धकी अभियन्ता रेखा थापाले बालविवाह नरोकिएसम्म देशको आधा भन्दा बढी संख्यामा रहेका महिलाको भविश्य अन्धकार हुने भन्दै यसले महिलाको मात्र नभएर देशको सामाजिक र आर्थिक विकासमा समेत नकारात्मक असर पार्ने बताइन् ।

जबसम्म महिला र पुरुष समान हैसियतमा आउदैन्न् तबसम्म अन्य विकासका कार्यले जतिनै फड्को मारे पनि त्यसको औचित्य नहुने थापाको भनाइ छ ।
बालविवाह विरुद्धको देशव्यापी अभियानमा रहेकी थापाले नेपाललाई छोरीहरूले सम्मानित भएर बाँच्न पाउने देश बनाउने सपनाका साथ आफू यस अभियानमा लागेको बताइन् ।

‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै थापाले भनिन्, ‘उमेर पुगेर (२० वर्ष पछि) मात्रै विवाह गर्नुस् । जीवनमा पछुताउनु पर्दैन ।’

कार्यक्रममा बोल्दै जिवन प्रशिक्षक तथा अभियन्ता नरबहादुर कार्कीले विश्वका अन्य देशको तुलनामा छोरीका लागि नेपाल संकटग्रस्त देशका रुपमा चिनिने र तथ्याङ्कीय रुपमा हेर्दा पनि नेपालमा बालविवाह डरलाग्दो रुपमा रहेको बताए ।

बालविवाह जस्तो कुसंस्कृति उन्मुलन नभएसम्म सामाजिक विकास सम्भव नभएका कारण अभियानको सुरुवात गरिएको बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले बताए ।

नगरपालिकाको प्रयासले मात्र यस अभियानलाई सफल बनाउन नसक्ने भन्दै नगर प्रमुख बस्यालले सम्पुर्ण नगरबासी यस अभियानका अभियन्ता बन्नुपर्नेमा जोड दिएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com