सम्बन्ध विच्छेद गर्ने महिला धेरै, अंश पाउने थोरै


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

–कल्पना भट्टराई–

ललितपुर । रुपन्देहीकी राधा बोहोराले ०६५ सालमा काठमाडौंका जीवन खड्कासँग विवाह गरिन् । विहे गरेको केही समय राम्रोसँगै बित्यो । श्रीमान र श्रीमानको परिवारले हेला गर्न थालेपछि उनले काठमाडौं जिल्ला अदालतमा अंश सहितको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरिन् ।

राधाको २०७२ जेठमा काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भयो । उनले अंश सहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । अंश लिन लामो समय मुद्दा लड्नुपर्ने तर अंश दाबी छोड्दा भने छिटै सम्बन्ध विच्छेद हुने देखेपछि उनले अंश दाबी छोडिदिइन् ।

राधा त घरेलु हिंसाका कारण सम्बन्ध विच्छेद गर्ने एक प्रतिनिधि हुन् । घरेलु हिंसा, बहुविवाह लगायतका कारण महिलाहरुले सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

पछिल्लो समयमा महिलामा आएको सचेतना कारण पनि महिला हिंसा सहेर बस्दैन् र सम्बन्ध विच्छेदको बाटो रोज्ने गरेका छन् । कतिपय आत्मनिर्भर महिलाले आफू खुसी अंश छोडेर सम्बन्ध विच्छेद गरेको भेटिन्छ ।

सम्बन्ध विच्छेद बढ्दै

पछिल्लो साढे दुई वर्षको तथ्याङ्कले काठमाडौंमा अप्रत्यासित रुपमा सम्बन्ध विच्छेदका घटना बढेको देखाउँछ । गएको साढे दुई वर्षमा ५ हजार ५ सय ७५ जोडीबिच सम्बन्ध विच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष  ०७२\०७३ मा २ हजार ११ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । आव ०७३/०७४ मा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेर २ हजार ३ सय ९३ पुगेको छ । २०७४ साउनदेखि फागुन ८ गतेसम्म सम्बन्ध विच्छेद गर्नेको संख्या १ हजार ३ सय ५४ रहेको छ ।

माथिको तथ्यांक हेर्दा प्रत्येक वर्ष सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको देखिन्छ । महिलाहरु आफ्नो अधिकारप्रति सचेत हुँदै जानु, उनीहरुको चेतनामा वृद्धि हुनु, अन्यायका बारेमा बुझ्न थाल्नु, बसाइसराइ, वैदेशिक रोजगार सम्बन्ध विच्छेद गर्ने प्रमुख कारण भएको काठमाडौं अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले बताए ।

‘बिहेलगत्तै पति विदेश गइदिने अनि शारीरिक र भावनात्मक सम्बन्धको अभावमा चाहना पूरा गर्न पत्नीले विकल्प खोज्ने, श्रीमानले माया भन्दा धेरै शंका र प्रश्न गर्ने, परिवारमा महिलाको स्थान कामदारको रुपमा मात्रै भए पछि त्यही समस्याको कारक बन्ने गरेको देखिन्छ’ काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका सदस्य जयराम श्रेष्ठले भने, ‘अर्कोतर्फ पत्नीलाई विदेश पठाएर पतिले स्वदेशमा रमाउने अनि पत्नी फर्केर आए पछि नानाथरी शङ्का गर्ने भएकाले पनि सम्बन्ध विच्छेद बढेको छ ।’

सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढि भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालको भनाइ छ ।

पुरुषहरूलाई उजुरी दर्ताका लागि प्रक्रिया झन्झटिलो भएका कारण पनि उजुरी दर्ता गर्नेहरूमा महिलाको संख्या बढी छ ।

महिलाहरूले सम्बन्ध विच्छेद गर्न चाहेमा सिधै अदालतमा गएर निवेदन दर्ता गराउने व्यवस्था छ । पुरुषहरूलाई सम्बन्धित गाउँपालिका वा नगरपालिका हुँदै अदालतसम्म पुग्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

झन्झटिलो प्रक्रियाले अंश दाबी छोड्छन् महिला

महिलालाई सम्बन्ध विच्छेद गर्ने प्रकृया सहज बनाइए पनि कमजोर कानुन र झन्झटिलो अदालती प्रक्रियाका कारण अंश पाउन भने लामो झमेला व्यहोर्नु पर्ने अवस्था कायमै छ ।

श्रीमानले सम्पत्ति लुकाउने, उल्टो ऋण देखाउने गर्दा पनि श्रीमतीहरू अंश दाबी छोड्न बाध्य हुन्छन् ।

सम्बन्ध विच्छेद नगरी श्रीमानसँग छुट्टिएर बस्दा मात्र महिलालाई अंश लिन सहज देखिन्छ । यसले व्यवहारिक र कानुनी रुपमा श्रीमानसँग सबै खालका सम्बन्ध विच्छेद गर्न चाहाने महिलालाई अप्ठ्यारोमा पारेको देखिन्छ ।

अंश माग नगर्दा श्रीमानको अनुपस्थितिमा वा एकतर्फी रुपमा समेत महिलाले सम्बन्ध विच्छेद गर्न सक्छन् ।

अंशसहित सम्बन्ध विच्छेद गर्न चाहेमा पतिले दिन नचाहने, जग्गा जमिन धेरै भएपनि टुक्र्याउनुपर्ने झन्झट देखाउने वा थोरै रकम दिने, अदालतमा लामो समयसम्म अल्झिरहने वा ढिलो गरि फैसला हुने जस्ता विभिन्न समस्या देखिन्छन् ।

त्यसकारण जिल्ला अदालतहरूमा महिलाले दायर गरेका सम्बन्ध विच्छेदका मुद्दाहरू पति पत्नीको मिलेमतोमै आइरहे पनि अंश पाउने महिला निकै थोरै देखिने गरेका श्रेष्तेदार नेपालले बताए ।

कानुनमा समेत श्रीमान श्रीमतीबिच सहमतिमा सम्बन्ध विच्छेद भएमा अंश दिने कुरा उल्लेख छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com