नयाँ शैक्षिक सत्र सुरु, पाठ्यपुस्तक नपुग्दा अध्ययन अध्यापनमा अन्योल


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

फागुन १०, बेंसीसहर । हिमाली जिल्ला मनाङमा फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। तल्लो क्षेत्रमा रहेका नासोङ र चामे गाउँपालिकाका विद्यालयमा पढाइ सुरु भइसकेको छ । तर, पाठ्युपस्तक अझै पुगेको छैन। माथिल्लो क्षेत्रमा पर्ने नेस्याङ र नारफू गाउँपालिकामा भने चैतदेखि मात्रै पढाइ हुन्छ । पाठ्यपुस्तक नआएपछि कसरी अध्ययन अध्यापन गर्ने भन्नेमा अन्योल भएको शिक्षकको भनाइ छ।

पाठ्यपुस्तक अभावमा पढाइ प्रभावित भएको छ। चामे तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले पाठ्यपुस्तक अभावमा पुरानै पुस्तक पढाउन बाध्य भएको बताए। ‘छिटो पुस्तक ल्याउन गाउँपालिकामा भनिरहेका छौँ’, गुरुङले भने, ‘विद्यालय खुलेको एक साता भइसक्यो अझै पुस्तक आएको छैन।’

यस वर्ष १० कक्षा पास गरेका विद्यार्थीले एसईई परीक्षाका लागि पाठ्यपुस्तक आफैंसँग लगेपछि नयाँ विद्यार्थीले पुराना किताबसमेत नपाएको प्रधानाध्यापक गुरुङले बताए। सरकारले शैक्षिक सत्र सुरुसँगै हरेक विद्यार्थीका हातमा पाठ्यपुस्तक पु‍¥याउने घोषणा गर्दै आए पनि हिमाली जिल्लाका विद्यार्थीले समयमै पुस्तक पाउन सकेका छैनन्। नोसोङ गाउँपालिका शिक्षा शाखाका नासु राजेन्द्र देवकोटाका अनुसार गत वर्षको विद्यार्थी तथ्यांक हेरेर पाठ्यपुस्तक माग गरिएको छ। पाठ्यपुस्तक ल्याउन लमजुङको भोटेओडारस्थित सापकोटा स्टेसनरीले जिम्मा लिएको छ।

सदरमुकाम चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेशकुमार थापाले पनि पुस्तक आइनपुगेको जानकारी दिए। पाठ्यपुस्तक नहुँदा विद्यार्थीले स्कुल आउन अल्छी मान्ने गरेको उनको भनाइ छ। जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले पाठ्यपुस्तक व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको बताए। ‘अब पाठ्यपुस्तक र बजेट व्यवस्थापन स्थानीय तहले हेर्छ’, उनले भने। मनाङमा ४ मावि, १० आधारभूत र १३ प्रावि गरी २७ सामुदायिक विद्यालय छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com