बालुवाटारभित्र फरार सिलवाल, प्रहरी टोली बालुवाटार बाहिर


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

 

फागसन ७, काठमाडौँ । सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धामा फरार रहेका पुर्व डीआईजी नवराज सिलवाल करिब अढाई महिनापछि सार्वजनिक भएका छन्। स्रोतका अनुसार उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिरहेका छन्।

सर्बोच्च अदालतको आदेशपछि गत पुस ५ गते काठमाडौं जिल्ला प्रहरी परिसरमा सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धामा प्रहरीले अनुसन्धान अगाडि बढेको थियो। प्रहरीले अनुसन्धानका लागि सिलवालको खोजी गरेपनि उनी भुमिगत भएका थिए।

आईजिपी नियुक्ति विवादमा तत्कालीन डीआईजी सिलवालले कार्य सम्पादन मुल्या‌ंकन फाइल कीर्ते गरेको आरोप छ। प्रहरीले सिलवाल नभेटेपछि सरकारी वकिललाई मुद्धा बुझाएको थियो। तर सरकारी वकिलले मुद्धा दर्ता गरेका छैनन्। उनी बालुवाटार पुगेको थाहा पाएर प्रहरी टोली पनि बालुवाटारबाहिर पुगे पनि पक्राउ आदेश नभएको भन्दै पर्खिरहेका छन्।

सिलवालले आईजिपी नियुक्ति विवादमा मुद्धा हारेपछि पदबाट राजिनामा दिएर एमाले प्रवेश गरेका थिए। गत प्रतिनिधिसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। तर सर्वोच्च अदालतले सिलवालले अदालतमा पेश गरेको कासमु कीर्ते भएको ठहर गर्दै कीर्तेमा स‌ंलग्नलाई कारबाही गर्न निर्देशन दिएपछि आईजिपी विवादमा नयाँ मोड देखिएको थियो।

सिलवालले भने आफुलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले फसाउन खोजेको दाबी गर्दै स्वतन्त्र छानबिनको माग गर्दै आएका छन्। केही दिन अघि देउवाले सरकार छाडेसँग सिलवालले सामाजिक सन्जालमा उनीविरुद्ध आपत्तीजनक अभिव्यक्ति दिएका थिए। आईजिपी विवादमा एमालेको पुर्ण साथ पाएका सिलवाल पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री ओली निकट मानिन्छन्। राजनीतिमा सिलवाल प्रवेश गरेसँगै‌ं ओलीले चुनावी सभामा सिलवाललाई मन्त्री बनाई दिने अभिव्यक्ति दिएका थिए। सोमबार बिहान मात्र सिलवाल निकट मानिने पत्रकार मदन बाबु भन्डारीले उनीसँग खिचिएको ताजा तस्विर भन्दै सार्वजनिक गरेका थिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com