आर्थिक विकासमार्फत सुखी नेपाली, समृद्ध नेपाल बनाउने लक्ष्य : प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

फागुन ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहनाबमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवम् कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरू गर्ने उद्घोष गरेका छन्।

काठमाडौंको टुँडिखेलमा ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताए।

उनले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवम् हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अब मुलुकको कार्यदिशा हुने समेत स्पष्ट पारे। उनले केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आ–आफना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन संचालन गर्ने नयाँ अध्यायको सुरूवात भइसकेको पनि स्मरण गराए। प्रधानमन्त्री ओलीले नेपाली जनताले युगौंदेखि साँचेका सपनालाई साकार पार्न समयमै स्रोत र साधनको परिचालन गरी नेपाल र नेपाली जनताको वृहत्तर हित र समृद्धिको अभियानमा जुट्न सबैलाई आह्वान गरे।

प्रधानमन्त्री ओलीले जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रममा नेपाली सेनाले आफ्नो कलाकौशल प्रस्तुत गर्नुका साथ हेलिकप्टरबाट पुष्पवृष्टि गरेका थियो।

त्यसैगरी, काठमाडौं महानगरपालिका, नेपाल स्काउट लगायतका संघ, संस्थाहरूले सांस्कृतिक झाँकीसहितका प्रर्दशनी गरेका थिए । यसै अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा पनि दिएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com