बाँसको घडीः आमा बनाउने, छोरा बेच्ने


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

नमराज सिलवाल चितवन गोवैका स्थायी बासिन्दा हुन्। काठमाडौंमा बसेर अध्ययन गर्दैछन्। आफू मात्र हैन, भाइ र बहिनीलाई समेत पढाउँछन्।

नमराजले भर्खरै स्नातक पास गरे। भाइ पहिलो र बहिनी तेस्रो वर्षमा छन्।

परिवारको कमजोर आर्थिक अवस्थाले घरबाट पैसा ल्याउन सम्भव छैन। भाइबहिनीको पढाइ बिग्रन्छ भनेर काम गर्न दिएका छैनन्। घरखर्च धान्ने र भाइबहिनी पढाउने दायित्व नमराजमाथि छ।

उनको महिनाको खर्च करिब २० हजार रुपैयाँ हो। यही जोहो गर्न विभिन्न संस्थामा जागिर खाए। जति गर्दा पनि खर्चलाई कमाइले कहिल्यै उछिनेन। ऋण बढ्दै गयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नमराज वैकल्पिक स्रोतको खोजीमा नयाँ–नयाँ काममा हात हालिरहन्थे। एक हस्तकला कम्पनीमा बजार व्यवस्थापन सुरु गरे। यो काम अझै गर्छन्। उनको कामै बजार डुल्नु हो। यसरी डुल्दा एउटै पसलमा खाजा खाने अवसर विरलै पाउँछन्। एक ठाउँबाट अर्को ठाउँ जाँदा धूलो, धुँवा, सवारी जाम लगायता नानावली झन्झट भोग्नुपर्छ।

यही हिँडिरहनुपर्ने काम नमराजको निम्ति वरदान साबित भयो।

उनले नियमित खाजा खाने पसलहरूमा मौलिक सजावट सामग्री प्रयोग बढ्दै गएको देखे। गुन्द्री, अम्खोरा, करुवा, गाग्रो र भित्ता सजाउन नाङ्लो, डोकोजस्ता सामग्री प्रयोग गरिएका रेस्टुरेन्ट र क्याफे बग्रेल्ती खुल्न थालेका थिए। यस्तो सजावटमा ग्राहक आकर्षित भएको उनको बुझाइ थियो।

रेस्टुरेन्ट सजावटको यही ‘ट्रेन्ड’ ले नमराजको मनमा उद्यमको झिल्को बाल्यो।

सात वर्षअघि काठमाडौं छिरेका उनले करिब आठ महिनाअघिबाट बाँसको घडी बनाउन थालेका छन्। लगानी खासै केही छैन। उनको घरमा निगालोको घारी छ। उनकी आमा पहिल्यै दुना, टपरी र बाँसका ढकी बुन्न सिपालु थिइन्। यही खुबीले गाउँघरमा जुनसुकै धार्मिक कार्यक्रम परे पहिलो निम्ता उनकैमा आउँथ्यो। बाँसको घडी बनाउने योजनामा पनि आफ्नो सिप काम लाग्छ भन्ने नमराजले सोचे।

आमासँग कुरा भयो।

ढकी बुन्न बाँसका चोया प्रयोग गर्दै आएकी आमाले त्यही तरिकाबाट घडी बनाउन मिल्ने बताइन्। एउटा नमूना तयार पारेर पनि देखाइन्।

छोरालाई चित्त बुझ्यो। अनि सुरु भयो, व्यावसायिक उत्पादन। आठ महिनादेखि आमा–छोरा मिलेर बाँसको घडी बनाउने र बेच्ने गर्दै आएका छन्।

चितवन बस्ने उनकी आमा हातैले बुनेर दिनको एउटादेखि दुइटा घडी बनाउँछिन्। घडी बनाउन बाँसबाट चोया निकाल्छिन्। चोया बाट्छिन् र घडीको आकारमा काट्छिन्। बाँस टल्काउन ‘साइनर’ दलेर घाममा सुकाइन्छ। घडीको आकार मिलाएपछि त्यसमा काँटासहितको मेसिन जडान गरिन्छ।

‘यस्तो मेसिन काठमाडौंमै किनेर पठाउने गर्छु,’ नमराज भन्छन्।

मेसिनको मूल्य १ सय ५० देखि २ सयसम्म पर्छ। यी सुई फिट गरेपछि घडी आकर्षक बनाउन मैनबत्तीमा पोलेर कालो धब्बा निकालिन्छ।

त्यसपछि साना बाँसका टुक्रा ‘फेबिकोल’ टाँसेर जोडिन्छ। घडीको माथिल्लो भाग ढाक्न सिसा हालिन्छ। सिसा दरोसँग टाँस्न ‘डेन्ड्राइट’ प्रयोग गरिन्छ। सिसा नउक्कियोस् एउटै ठाउँमा नचलाई राखिन्छ।

यसरी दुई दिनमा घडी तयार हुन्छ।

यहाँसम्मको काम आमाको भागमा पर्छ। त्यसपछि चितवनमा बनेको घडी काठमाडौं ल्याएर बजारसम्म पुर्याउने जिम्मा नमराजको हो। उनी दुईवटा घडी झोलामा हालेर पर्यटक चहलपहल हुने ठमेल, वसन्तपुर, पाटन, भक्तपुर दरबार स्क्वायर लगायत क्षेत्र डुल्छन्। मान्छे भीडभाड हुने पसल, रेस्टुरेन्ट, कल्सल्टेन्सी, क्याफेतिर पनि धाउँछन्।

‘मौलिक चिजहरू सजाएर राख्ने ठाउँमा हाम्रो घडीले प्राथमिकता पाउँछ, मान्छे चासो दिँदै सोधखोज गर्छन्,’ उनले भने, ‘चार वर्षदेखि विभिन्न कम्पनीमा बजार व्यवस्थापन गरेको अनुभवले यहाँ मलाई सजिलो भएको छ।’

‘म मान्छेलाई भेट्नासाथ उसले मेरो सामान रुचाउँछ कि रुचाउँदैन, किन्छ कि किन्दैन थाहा पाउन सक्छु,’ उनले भने। यो घडीको मूल्य एक हजारदेखि १५ सय रुपैयाँ पर्छ। केहीले महँगो भन्ने गरेको उनी बताउँछन्।

‘मौलिकता र ‘युनिकनेस’ खोज्नेले किन्छन्। धेरैले बजारमा दुई सयमै घडी पाइन्छ पनि भन्छन्। ‘नवीनता र छुट्टै आकर्षणको भएकाले समग्रमा राम्रै प्रतिक्रिया पाउने गरेको छु,’ उनले भने।

यो घडीमा वारेन्टी भने छैन। बाँसको घडी भएकाले पानीबाट जोगाउनुपर्छ। भित्रको मेसिन बिग्रिएमा सकेसम्म आफैं गएर बनाइदिने गरेको उनले बताए।

‘यही घडी बेचेर महिनाको औसत ४० हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ,’ उनले भने, ‘महिनामा ३० वटाभन्दा बढी बिक्छ।’

लामो समयदेखि संघर्ष गर्दै आएका नमराज घडी व्यवसाय सुरु गरेपछि घरव्यवहार चलाउन सजिलो भएको बताउँछन्। आमालाई समेत रोजगारमूलक काममा लगाउन पाएको उनी दंग छन्। उनले आमालाई पनि परिश्रम बराबरको हिस्सा दिने गरेका छन्।

‘डेराको खर्च त मैले बजार व्यवस्थापनको जागिरबाटै जुटाएकै छु। घडीबाट हुने आर्जनले घर चलाउन सजिलो भएको छ,’ उनले भने, अलिकति बजार विस्तार गर्न सक्यो भने मेरी आमाजस्तै घरमा निस्क्रिय बसेका अन्य धेरै महिलालाई रोजगारमा लगाउन सकिन्छ।’
‘अबको मेरो सपना भनेकै यही हो,’ उनले भने।

आमाकै माध्यमबाट चितवनका अन्य महिलालाई सिप सिकाएर काठमाडौं ल्याउने वा चितवनमै घरेलु उद्योग सुरु गर्ने उनको योजना छ। यसो गर्न सके महिनाको हजारवटा घडी बनाउन सकिने उनी बताउँछन्।

‘हामीले बनाएको घडीप्रति धेरै मानिसको रुचि पाएको छु। उत्पादन बढाउने र त्यहीअनुसार मार्केटिङ गर्ने हो भने राम्रो सम्भावना देखेको छु,’ उनले भने।

घडीबाहेक बाँसबाट अन्य वस्तु उत्पादन गर्न सकिन्छ कि भन्नेमा पनि उनी अध्ययन गर्दैछन्।

‘मैले यो बाँस आफू जन्मिनुभन्दा अगाडिदेखि त्यत्तिकै मिल्केको देखेको थिएँ। आखिरमा यही मेरो जीविकोपार्जनको आधार बनेकोमा मलाई खुसी लागेको छु,’ उनले भने, ‘हामीले घडी त बनायौं, अब नौलो केही बनाउन सकिएला भन्नेमा अध्ययन गरिरहेका छौं।’

नमराजको एउटा सुझाव पनि छ।

‘हाम्रो वरिपरि त्यस्ता कयौं चिज छन्, जसको उपयोगिताबारे हामीले कहिल्यै सोचेनौं। मेरा लागि वर्षौंदेखि अनावश्यक बढ्दै गएको त्यो बाँसघारी त्यस्तै थियो। त्यसको सदुपयोगले मेरो जीवन सहज बनेको छ। ती चिज फोहोरझैं हाम्रा सामुन्ने थुप्रिएका छन्, तर जान्ने हो तिनै फोहोरबाट मोहोर फलाउन सकिने रहेछ,’ उनले भने।

Source : Setopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com