संसदीय दलमा देउवालाई नदिने तयारी


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

रमेश, मधुसुधन काठमाडौं |कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ । महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन् ।

संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन् । स्रोतका अनुसार महामन्त्री कोइराला सर्वसम्मत हुने अवस्थामा अघि सर्ने मनस्थितिमा छन् । सिंह भने देउवासँग चुनावी प्रतिस्पर्धामै उत्रिन तयार छन् ।

समानुपातिकतर्फका सांसदको टुंगो लागेपछि कांग्रेसमा दलको नेता छान्ने गृहकार्य अघि बढेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसका ६३ सांसद छन् ।

जसमध्ये सभापति शेरबहादुर देउवा पक्ष संसदीय दलमा सहज बहुमतमा देखिएको छ । दलको नेता बन्न ३२ मत (बहुमत) आवश्यक पर्छ । तर, देउवा पक्षमा प्रत्यक्षका ११ र समानुपातिकका २९ गरी ४० सांसद छन् ।

पौडेल पक्षबाट प्रत्यक्षमा नौ र समानुपातिकमा १० गरी १९ सांसद छन् । प्रत्यक्षमा तीन सिट जितेको सिटौला पक्षका समानुपातिक सांसद छैनन् । सहमति नभई भोटिङ हुने अवस्थामा पौडेल पक्ष सहजै पराजित हुने देखिन्छ ।

कहिले चयन गर्छ कांग्रेसले दलको नेता ?
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संघीय संसद्का सांसदले शपथ लिएपछि मात्र कांग्रेसले दलको नेता चयन गर्नेछ ।

‘कांग्रेस सांसदहरूले शपथ लिएपछि मात्र उनीहरू दलको नेता छान्न योग्य हुन्छन् भन्ने पक्षमा छ,’ शर्माले भने, ‘अरूले सांसदको शपथसमेत नलिईकन दलको नेता छाने पनि हामी सांसदले शपथ लिएपछि मात्र दलको नेता चयनको प्रक्रिया थाल्छौँ ।’

केन्द्रीय सदस्य गुरुङ भन्छन्, ‘अब दलको नेता शशांक कोइराला’
केन्द्रीय सदस्य कल्याण गुरुङले पौडेल पक्षले दलको नेतामा सर्वसम्मतका लागि महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने बताए ।

पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मतमा नेता चयन हुने अवस्था नरहेको उनको दाबी छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा गुरुङले भने, ‘निर्वाचनमा प्राप्त भएको जनमतले पार्टी सभापति शेरबहादुर देउवा दलको नेता बन्ने अवस्था नरहेकाले उहाँ उठ्नुहुन्न, बरु सर्वसम्मतिका लागि शशांक कोइराला अघि सर्नुपर्छ भन्ने हाम्रो आग्रह छ, चुनाव लड्ने हो भने प्रकाशमान सिंहले आफैं उठ्छु भन्नुभएको छ ।’

कांग्रेसका ६३ सांसदमा : संस्थापन ४०, पौडेल १९, सिटौला तीन
संस्थापन प्रत्यक्ष : ११ सांसद
देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, पदीप गिरी सिरहा १, रसुवा मोहन आचायर्, सर्लाही ४ अमरेशकुमार सिंह, रूपन्देही ५ भरत शाह, नवलपरासी २ देवेन्द्रराज कँडेल, रूपन्देही ४ प्रमोदकुमार यादव र कपिलवस्तु ३ अभिषेकप्रताप शाह विजयी भएका छन् ।

पौडेल पक्ष प्रत्यक्ष : ९जना
काठमाडौं १ प्रकाशमान सिंह, नवलपुर १ डा. शशांक कोइराला, मोरङ २ डा. मिनेन्द्र रिजाल, उदयपुर १ डा. नारायण खड्का, काठमाडौं १० राजन केसी, रौतहट २ अफताव आलम, रौतहट ४ देवीप्रसाद तिमल्सिना, सप्तरी ४ तेजुलाल चौधरी, बर्दिया १ सञ्जय गौतम छन् ।

यी हुन् प्रत्यक्षमा सिटौला पक्षका विजयी तीनजना बारा १ उमाकान्त चौधरी, काठमाडौं ४ गगनकुमार थापा र काठमाडौं ६ भीमसेनदास प्रधान सिटौला पक्षका नेता हुन् ।

समानुपातिक : देउवा पक्ष : २९
पुष्पा भुसाल गौतम, डिला संग्रौला, उमा रेग्मी, रंगमति शाही, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुजाता परियार, लक्ष्मी परियार, चित्रलेखा यादव, मिनाक्षी झा, पार्वती डिसी चौधरी, सर्वत आरा खान, नमिताकुमारी चौधरी ।

खस–आर्य पुरुष
बालकृष्ण खाँण, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, बहादुरसिंह लामा, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, पद्यनारायण चौधरी, अतहर कमाल मुसलमान र रामबहादुर विष्ट ।

समानुपातिक पौडेल पक्ष १०
सुजाता कोइराला, मीना पाण्डे, प्रमिला राई, विमला नेपाली, सीतादेवी यादव, दीलेन्द्रप्रसाद बडू, कर्मा घले, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, प्रकाश स्नेही रसाइली । जो दुवैतिरको सम्पर्कमा छन्
विनोद चौधरी

आफैँ नेता बन्ने प्रयासमा देउवा
प्रत्यक्ष निर्वाचनतर्फ केही कमजोर देखिएका सभापति देउवा समानुपातिकतर्फको नतिजामा सुदृढ देखिएपछि दलको नेता आफैँ बन्ने सोचमा छन् ।

प्रत्यक्षतर्फ पार्टीले जितेको २३ सिटमध्ये संस्थापन पक्षका ११ सांसद मात्रै छन् । तर, समानुपातिकतर्फ देउवाले आफूनिकट २९ सांसद बनाएर दलमा सहज बहुमत पु-याएका छन् ।

संस्थापन पक्षका नेताहरू देउवाले फेरि पनि चाहना राखेमा अन्य कुनै पनि नेता उम्मेदवार नै नबन्ने बताउँछन् । अहिलेसम्म देउवाले अरूलाई दलको नेता बनाउने गरी आश्वासन पनि दिएका छैनन् ।

आफू उठ्दा समस्या नहुने भए पनि अर्को कुनै नेतालाई अघि सार्दा आफ्नो पक्षमा असन्तुष्टि बढ्ने भएपछि देउवा आफैँ अघि बढ्ने मनस्थितिमा पुगेको स्रोतले बतायो ।

पौडेल पक्षमा दुई आकांक्षी
प्रतिनिधिसभा निर्वाचनमा पराजित रामचन्द्र पौडेल सबै किसिमका संसदीय प्रतिस्पर्धाबाट स्वतः बाहिर छन् ।

उनको पक्षबाट संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन् । दुवैले सार्वजनिक रूपमा आफू दलको नेतामा दाबी पेस गर्ने बताएका छन् ।

कोइराला सर्वसम्मत रूपमा नेता चयन हुने अवस्थामा मात्रै दाबी पेस गर्ने पक्षमा छन् । आफू दलको उम्मेदवार भएमा प्रस्तावक पार्टी सभापति देउवा हुने कोइरालाले सार्वजनिक रूपमै बताउँदै आएका छन् ।

उनले अघिल्लो साता नवलपरासीमा आयोजित कार्यक्रममा भनेका थिए, ‘म दलको नेता भएँ भने मेरो प्रस्तावक सभापतिजी हुनुहुन्छ ।’

तर, नेता सिंहले भने सार्वजनिक रूपमै प्रतिस्पर्धामा आफू उम्मेदवार हुने बताउँदै आएका छन् । स्रोतका अनुसार पौडेल पक्षका भएपनि कोइराला परिवारनिकट सांसदहरूले सिंहलाई उम्मेदवार बनाउन चाहिरहेका छैनन् ।

‘अब पुरानो संस्थापन पक्षको नेतृत्व कोइराला परिवारबाट कसैले गर्ने हो, पौडेलले गर्ने होइन,’ स्रोत भन्छ, ‘पौडेल आफैँ सांसदमा पराजित भएकाले महामन्त्रीसमेत रहेका डा. कोइरालाले नै दलको नेतामा प्रतिस्पर्धा गर्नुपर्छ । सिंहलाई उम्मेदवार बनाउने होइन ।’

स्रोतका अनुसार पौडेल पक्षका सांसदहरू कोइरालालाई सर्वसम्मत नेता बनाउनुपर्ने र निर्वाचनमा जानुपरे सिंहलाई दलको नेतामा उम्मेदवार बनाउन चाहिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com