दमकल नहुँदा स्थानीय तहका जनता समस्यामा


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

 

फागुन ६, जितपुर, कपिलवस्तु । स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो ।

हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ । जिल्लामा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

वाणगंगा, कृष्णनगर र कपिलवस्तु नगरपालिकाबाहेक अन्यमा दमकल छैनन । ९३ हजार घरधुरी र ६ लाखभन्दा बढी जनसंख्या रहेको यस जिल्लामा दमकल भने जम्मा तीन वटा मात्र छन् । हावाहुरी चल्ने, आगलागी हुने समय शुरु भएको हुँदा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ । गत वर्ष मात्र कपिलवस्तुमा आगलागीबाट ४५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका थिए भने ६ जना भन्दा बढीको मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत साल सबैभन्दा बढी शिवराज, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिकामा आगलागीका घटना भएका थिए । हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गर्दछन् । अहिले पुनः गर्मीयामसँगै हावाहुरीको मौसम शुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो लिएका छैन । जननिर्वाचित प्रतिनिधिहरूसमेत आगलागीका सम्भावित घटना न्यूनीकरणतर्फ गम्भीर देखिएको पाइएको छैन ।

आगलागी नियन्त्रणका लागि स्थानीय तहमा पर्याप्त स्रोत साधनको अभाव छ । कुल ९३ हजार घरधुरीमा जम्मा ३ वटा दमकल सञ्चालनमा छन् ।

विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरिद गरेका स्थानीय तहले दमकल खरिदमा भने त्यति चासो देखाएको पाईँदैन् । सबैभन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाले दमकल खरिद गरेका छैनन् । कृष्णनगर, कपिलवस्तु र वाणगंगामा सञ्चालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदानसमेत उपलब्ध गराएका छैनन ।

निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् भने कतिपयले दैनिक चारदेखि ६ हजारसम्म भाडामा गाडी चढिरहेका छन् तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेका आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाईदैन् ।

आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनीकरणका लागि नगरपालिकाहरूले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ । दमकल खरिद गर्न शिवराज, महाराजगञ्ज, बुद्धभूमि नगरपालिकाले चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।

शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आवश्यक बजेट तथा जनशक्ति अभावले खरिद गर्न नसकेको बताउनुभयो । दमकल खरिद गरेर परिचालन गर्ने र राख्ने स्थानसमेत नभएकाले तत्काल योजना नबनाएको उनले बताए । ‘आगलागीका घटना हँुदा छिमेकी कृष्णनगर नगरपालिकाको दमकलबाट सेवा लिइरहेका छौँ’, उनले भने ।

तर कृष्णनगरले सेवा दिएवापत शिवराज नगरपालिकाले हालसम्म केही नदिएको बताएको छ । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले दमकल व्यवस्थापन र मर्मतका लागि विजयनगर गाउँपालिका तथा शिवराज, महाराजगञ्ज नगरपालिकाले रकम सहयोग नगर्दा सञ्चालनमा समस्या परेको बताए । कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विमल आचार्यले बजेट अभावले दमकल सञ्चालनमा समस्या आएको बताए ।

दमकलका लागि चाहिने इन्धन मर्मत खर्च पर्याप्त नहुँदा समस्या परेको उहाँको दाबी छ । बुद्धभूमि महाराजगञ्ज नगरपालिका तथा यशोधरा, शुद्धोधन र मायदेवी गाउँपालिकाहरूले समेत दमकल प्रयोग गर्ने तर मर्मत र इन्धन खर्च दिएका छैनन ।

वार्षिक बजेट विनियोजन गर्दा दमकल सञ्चालनमा रकम छुट्याउने गरे पनि पछि अन्य शीर्षकमा खर्च गरिने स्रोतको दाबी छ । ठूलो नगरपालिका क्षेत्रमा एउटा दमकल व्यवस्थापनका लागि वार्षिक रु २० लाख आवश्यक पर्ने आचार्यले बताए ।

जिल्ला समन्वय समितिले पनि दमकल खरिद गर्न तथा आगलागीका घटना न्यूनीकरण गर्न स्थानीय तहले आवश्यक योजना बनाउनुपर्ने बताएको छ । सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालीन सन्देश प्रवाह पद्धतिबारे नयाँ योजना ल्याउन आवश्यक रहेको स्थानीय समन्वय अधिकारी चन्द्रकान्त न्यौपानले बताए ।

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत रहेकाले सबै स्थानीय तहलाई तत्काल दमकल खरिदको प्रक्रिया थाल्न न्यौपानेले आग्रह गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com