यी हुन एमालेबाट मन्त्री बन्ने(नामावलीसहित), कसले कुन मन्त्रालय पाउँदैछन् ? हेर्नुहाेस्


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न एमालेका नेताहरुले दौडधूप तीब्र पारेका छन् । बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका छन् ।

मन्त्रीका लागि आकांक्षी धेरै भएपछि एमालेमा भागवण्डा मिलाउन कठिन परेको छ । अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोखरेल देखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थमन्त्रालयमा रुची देखाएका छन् ।

यसअतिरिक्त पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्री बन्न रुची देखाएका एमाले स्रोत बताउँछ । ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए ।

मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराइको पनि चर्चा छ । उनी ताप्लेजुङबाट विजयी भएका थिए । मन्त्री बनेका लालबाबु पनि प्रदेश नम्बर १ का हुन्, उनी मधेसी समुदायका नेता पनि हुन् ।

प्रदेश नम्बर ३ बाट महासचिव इश्वर पोखरेल र सुरेन्द्र पाण्डे मन्त्री मन्त्री बन्ने सम्भावना छ । भक्तपुरवाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि चर्चा छ । तामाङ राप्रपाका पशुपति शमशेरलाई पराजित गरेर सांसद बनेका हुन् ।

प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारीलाई मन्त्री बनाउने चर्चा एमाले भित्र छ । उनी २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश ४ बाटै कांग्रेसका रामचन्द्र पौडेललाई पराजीत गर्ने किशान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजीत गर्ने पद्मा अर्यालको पनि चर्चा छ ।

प्रदेश नम्बर ५ बाट उपमहासचिवद्य विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको चर्चा छ ।
प्रदेश नम्बर ७ बाट भीम रावल र कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको चर्चा छ ।

काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, रामबीर मानन्धर, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेल, ओखलढुङ्गाका यज्ञराज सुनुवार लगायतपनि मन्त्री या राज्यमन्त्री बन्ने चर्चा छ । माओवादीसंग भागवण्डा मिलेपछि मात्र नयाँ मन्त्रीको टुंगो लाग्ने एमाले स्रोतहरु बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com