बहिनीको बलात्कार पछि हत्या, दुई वर्षिया बालिका समेत बलात्कृत


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

सप्तरीमा एक युवकले ११ वर्षिया बहिनीको बलात्कार गरि हत्या गरेका छन् । हत्या भएको ९ दिनपछि सप्तरी प्रहरीले सो घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना सम्बन्धमा बिस्तृत जानकारी दिदैं हत्याका आरोपी समेतलाई सार्वजनिक गरेको छ ।

जिल्लाको खडक नगरपालिका वडा नं. ९ लालपट्टी निवासी राजकुमार मण्डलकी ११ वर्षिया छोरी पार्वती कुमारी मण्डललाई माघ २५ गते साँझ ५ बजे ठूलोबुबाका छोरा १८ वर्षिय राजदेव मण्डलले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना भएको ५ घण्टापछि मात्र प्रहरीले थाहा पाएपछि घटना बारे बिस्तृत अनुसन्धान सुरु गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

माघ २५ गते साँझ ५ बजेतिर पार्वतीले टाउको दुखेको भनेपछि उनकी आमा औषधी खरीद गर्न पसल गएको मौका छोपी राजदेवले सुतिरहेकी पार्वतीलाई बलात्कार गरेको र पछि पावर्तीले कराउन थालेपछि राजदेवले घाटीमा तुना बेरेर उनको हत्या गरेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।

यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई सोही स्थानका १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको तथा बालकलाई प्रहरीले हिरासतमा राखेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com