विद्युत् चोरी गरेका नौ जना पक्राउ


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

फागुन ३, बनेपा । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत् चोरी गरेका नौ जना आज पक्राउ परेका छन् ।

उनीहरुलाई विद्युत् चोरी गरिरहेका अवस्थामा पक्राउ गरी इप्रका बनेपाको हिरासतमा लिइएको नेपाल विद्युत् प्राधिकरण, काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो । पक्राउ परेकाबाट तार, मोटर, फ्रिज, टिभीलगायत विद्युतीय सामग्रीसमेत बरामद गरिएको छ । पक्राउ पर्नेमा बनेपा नगरपालिका–३ का गोपालसिंह तामाङ र काले तामाङ, मण्डनदेउपुर नगरपलिका–३ का सानुकान्छा तामाङ र जीवनाथ ढकाल तथा मण्डनदेउपुर–४ का राजकुमार परियार, रामबहादुर नेपाली, भीमप्रसाद काफ्ले, रामकुमार तामाङ र मण्डनदेउपुर–८ का रामचन्द्र खतिवडा छन् ।

वितरण केन्द्रका प्रमुख यादवले मण्डनदेउपुरबाहेक पनौती र नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिकालगायत स्थानबाट पनि विद्युत् चोरी भएको उजुरी आएको बताउनुभयो । आव २०७३÷०७४ मा विद्युत् चोरीका आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ परेका थिए । यससँगै विद्युत् चोरी गर्नेको संख्या ५८ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com