रौतहटमा चल्यो एकाएक गोलि १६ प्रहरीसहित २५ जना घाइते


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय सार्ने विवादले उग्र रुप लिँदा गोली चलेको छ। नगर कार्यपालिकाको बैठकले साबिक विश्रामपुर गाविस कार्यालयमा रहेको वृन्दावन नगरपालिकाको कार्यालय करिब पाँच किलोमिटर टाढा हर्षाहा चौकमा सार्ने निर्णय गर्न लागेको भन्दै गत हप्तादेखि नै कार्यालयमा तालाबन्दी स्थानीयबासीले तालाबन्दी गरेका थिए।

तालाबन्दी गरिएपछि फागुन ३ गतेका दिन सर्वपक्षीय बैठक बसेर निर्णय लिइने जनाइएको थियो। विवाद बढेपछि साँसद देवीप्रसाद तिमल्सिना, पूर्व साँसदद्वय रामकुमार भटराई र देवेन्द्र पटेल तथा मेयर राम सिनेही यादवको संयुक्त समितिले निर्णय गर्ने बताइए पनि एक दिन अगावै २ फागुनमै कार्यालय सार्ने निर्णय हुन लागेको थाहा पाएर हजारौँ स्थानीयबासी जुटेका थिए।

नगरपालिकाको कार्यालयमा तालाबन्दी जारी रहेपनि स्थानीय स्वास्थ्य चौकी कार्यालयमा कार्यपालिका कार्यालयको बैठक संचालन गरी कार्यालय नै सार्ने निर्णय गर्न थालेको खबर जुटेका हजारौँ स्थानीयबासीले बैठकस्थलमा आक्रमण गरेका थिए। बैठकस्थलमा प्रहरीको उपस्थिति रहेपनि चारैतिरबाट बैठकस्थललाई घेरेर स्थानीयबासीले ढुँगामुढा गर्दै स्वास्थ्य चौकीको पर्खाल भत्काएर आक्रमण गरेका थिए। स्थानीयबासीले आक्रमण गरेपछि केही नगर प्रतिनिधिको भागाभाग भएको थियो भने केही प्रहरीको संरक्षणमा बसेका थिए।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले पहिले सामान्य लाठी चार्ज गरे पनि प्रहरीमाथि नै ढुंगा बर्सिन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार भएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले २१ राउण्ड अश्रू सेल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताएका छन्।

घटनास्थलमा थप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली पुगेपछि ठूलो दुर्घटना हुनबाट जोगिएको छ। आक्रोशित स्थानीयबासीले स्वास्थ्य चौकीमा रहेको फर्निचरहरु बाहिर निकालेर आगो लगाएका छन्।

नगरपालिकाका मेयर राम सिनेही यादवले आफू चुनाव लडेको समयमा गौर चन्द्रपुर सडकको छेउछाउमा कार्यालय सार्ने आश्वासन दिएका थिए। केही वडाका स्थानीयबासीलाई अपायक र टाढा भएको भन्दै कार्यालय सार्नेलाई भोट दिने बताएपछि यादवले कार्यालय सार्ने आश्वासन दिएका थिए। कार्यालय सार्ने आश्वासन पाएका यादव पक्ष नेपाली काँग्रेसको नगरपालिकामा बहुमत रहेको छ। नगरका अन्य पार्टी तथा स्थानीयबासीको ठूलो समूह कुनै पनि हालतमा कार्यालय सार्न नदिने पक्षमा देखिएको छन् भने नगर प्रमुख यादवसहित केही वडाध्यक्षहरु कार्यालय सार्ने प्रयासमा लागेका छन्। दुई पक्षको विवादले उग्ररुप लिएपछि बुधवार झडपको अवस्था सिर्जना भएको हो।

करिब एक घन्टासम्म चलेको झडपमा कोही पनि हताहत नभएको प्रहरीको दाबी छ। तर झड्पको क्रममा नेपाल प्रहरीका १४ र सशस्त्र प्रहरीका २ गरी १६ जना सुरक्षाकर्मी घाइते भएका छन्। यसै गरी रइमल वैठा, सितेश्वर पटेल, सिलवा देवी गरी एक दर्जन स्थानीय बासिन्दाहरु घाइते भएका छन्।

घाइतेहरुको अवस्था सामान्य रहेको छ भने सिलवा देवीको गरुडा स्थित हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको भवन सार्न नदिने संघर्ष समितिका संयोजक रामनाथ सहनीले बताए। प्रहरीको टियरग्यासबाट एकजना बालक घाइते भएको र उनको नाम खुल्न सकेको छैनन्।

घटनापछि नगर कार्यपालिकाको कार्यालय सार्ने निर्णय तत्कालको लागि स्थगित भएको छ। घटनास्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com