दुई नेताको व्यवस्थापनले मात्र पार्टी एकता सम्भव छैन- नेता नेपाल


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको नेकपा (एमाले)का नेता माधवकुमार नेपालले बताएका छन्।

चितवनमा बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए।

उनले भने– ‘दुई नेताको व्यवस्थापनले मात्रै हुँदैन। पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ।’

पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए। उनले भने –‘पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग्याउनु जरुरी छ।’

पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उनले सरकार गठनका लागि समय आइसकेको बताए। एक फरक प्रसंगमा बोल्दै उनले भने, ‘काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउने छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com