फुड स्ट्याम्पबिरुद्ध ट्रम्प, कार्ड होइन खाना नै दिने योजना


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

अमेरिकामा न्युन आय भएका तथा आम्दानी नहुनेहरुलाई ह्वाइट हाउसले खाना किन्न मिल्ने फुड स्ट्याम्प नभई वास्तविक खाना नै डेलिभर गर्ने योजना बनाएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तावमा ट्रम्प प्रशासनले फुड स्ट्याम्पमा कटौती गर्ने योजना बनाएको हो ।

ट्रम्प प्रशासनले फुड स्ट्याम्प प्राप्त गरिरहेका गरिब परिवारहरुलाई बक्समा खाद्यपदार्थ नै डेलिभरी गर्ने योजना बनाएको छ । यो योजनाबाट खानाका लागि महिनामा ९० डलर वा त्यो भन्दा धेरै फुड स्ट्याम्पमा प्राप्त गर्दै आएका झण्डै ४ करोड व्यक्ति प्रभावित हुनेछन् ।

अमेरिकाको कृषि विभागले अमेरिकामा नै उत्पादन भएको खाद्य सामाग्री त्यस्ता गरिब परिवारलाई घरमै डेलिभरी गर्ने योजना बनाइएको छ । कार्यक्रम लागु भएमा फुड स्ट्याम्प इलेक्ट्रोनिक कार्डको साटो परिवारहरुले बक्समा प्याक गरिएको खाद्य सामाग्री पाउनेछन् । जुस, दुध, सिरियल, पास्ता, पिनट बटर, गेडागुडी, अण्डा, माछा, क्यानमा राखिएको मासु लगायतका सामानले भरिएको बक्स घरमै डेलिभरी गरिनेछ । जुन पुरक पोषण सहायता कार्यक्रम स्न्याप अन्तरगत प्राप्त रकमको आधा हुनेछ । बाँकी रहेको रकम भने कार्डमार्फत नै दिइनेछ ।

यो प्रस्तावबाट १० बर्षमा १३० बिलियन डलर भन्दा धेरै जोगिने ट्रम्प प्रशासनको विश्वास रहेको छ । त्यस्तो खाद्य सामाग्रीहरु पिकअप गर्नु परेमा गाडी नहुने परिवारलाई समस्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

गत बर्ष झण्डै सबा ४ करोडले अमेरिकामा फुड स्ट्याम्प अर्थात् सरकारी खाद्य सुविधा लिएका थिए । फुड स्ट्याम्प पाउनेहरुमध्ये ४४ प्रतिशत बालबालिकाहरु रहेका छन् । १२ प्रतिशत ६० बर्ष उमेर काटेकाहरु छन् । यसरी ५६ प्रतिशत केटाकेटी र बुढाबुढी रहेका छन् भने ११ प्रतिशत अपांगता भएकाहरु छन् ।

फुड स्ट्याम्प लिनेहरुमध्ये ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुष रहेका छन् । ३६ प्रतिशत गोराहरु, २६ प्रतिशत अश्वेतहरु, १७ प्रतिशत हिस्पानिक र ३ प्रतिशत एसियनहरुले फुड स्ट्याम्प लिइरहेका छन् ।

तीनजनाको परिवारले मासिक ३७६ डलर फुड स्ट्याम्पमा पाउने गरेका छन् । सो रकम कार्डमा आउने गर्छ । त्यसबाट उनीहरुले स्टोरमा खाद्य सामाग्रीहरु किन्न पाउँछन् । तर फुड स्ट्याम्पबाट मादक पदार्थ, सुर्तीजन्य पदार्थ, तातो खाना, घरपालुवा जनावरको खाना, सौन्दर्य सामाग्रीहरु किन्न मिल्दैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com