नेपालमा बेच्दै, अमेरिकामा जोड्दै
प्रकाशित मिति : माघ २८, २०७४ आईतबार
-मनोज घिमिरे
अमेरिकामा रहेका नेपालीले नेपालमा रहेको सम्पति विक्री गर्नेको संख्यामा वृद्दि भएको छ । न्युयोर्कस्थीत नेपाल महावाणिज्यदुतले अधिकृत वारिसनामा लिनेको संख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ । महावाणिज्यदुत कार्यलयले नेपालमा रहेको सम्पति बिक्री र नामसारीका लागि अधिकृत वारिसनामा लिनेको नेपाली र गैरआवासिय नेपालीको संख्यामा वृद्धि भएको जानकारी दिएको हो । बिशेषगरी नेपालमा रहेको घरजग्गा विक्री, सवारीसाधान र सेयर विक्री, बैंकको रहेको रकम फुकुवा लगायतको लागि अधिकृत वारिसनामा दिनको संख्यामा वृद्धि भएको छ ।
महावाणिज्यदुत कार्यालयले आर्थिक बर्ष २०७२/०७३ मा नेपालमा रहेको सम्पति बिक्री वा नामसारीको लागि अधिकृत वारिसनामा गर्नेको संख्या १ सय ९८ रहेकोमा गत आर्थिक बर्ष २०७३/०७४ मा २ सय ४८ रहेको जनाएको छ । यस्तै, चालु आर्थिक बर्षमा पनि त्यो संख्या बढ्ने प्रक्षेपण गरेको छ । यो आर्थिक बर्षको ६ महिना सम्ममा अहिले सम्म १ सय सय चालिस जनाले अधिकृत वारिसनामा लिइसकेको महावाणिज्यदुत कार्यलयले जानकारी दिएको छ । अहिले जाडो तथा हिउ परिकाले पहिलेको तुलनामा दैनिक सिफारिस लिनेको संख्यामा कमी भएपनि यो संख्या गत बर्षको भन्दा बढ्ने प्रक्षेपण गरेको छ ।
व्यक्ति उपस्थित नभइएकन आफनो सम्पति बिक्री, नामसारी गर्न अर्को ब्यक्तिलाई अधिकार दिइएको प्रमाणलाई वारिसनामा भनिन्छ, जुन कानुनी रुपमा मान्यता पाउनका लागि सरकारी अधिकृत समक्ष निवेदन दिएपछि अधिकृतको हस्ताक्षर पछि प्रमाणले नेपालमा अरुको नाममा भएको सम्पति वारिसनामा पाएको ब्यक्तिले मान्छेले बेचिदिन वा नामसारी गरिदिन अधिकार पाउछ । नेपाल सरकारले विदेशमा रहेका नेपाली वा गैरआवसीय नेपालीको सम्पति वा नामसारी गर्न विदेशमा रहेको आफनो महावाणिज्य कार्यलयबाट वारिसनामा प्रमाणित गरिदिने गरेको छ ।
महावाणिज्यदुत मधुकुमार मरासिनीले सम्पति बेच्नेको संख्यामा वृद्धि हुनुको कारण अहिलेपनि नेपालीहरुमा अमेरिकाको मोह नघटेको बताए । ‘आफुले सिफारिसका लागि आउने मानिसलाई तपाइहरुले नेपालमै लगानी गनुपर्छ, यहाबाट कमाएको पैसा पनि किन बेच्नुहुन्छ भन्दा फिस्स हास्नेमात्र गर्छन ।’ महावाणिज्यदुत मरासिनीले भने । विशेषगरी, सपरिवार आप्रवासनको लागि अमेरिका आएपछि, नेपालको सम्पति के गर्ने र उत्ता भएको सम्पति बेचेर यता किन्ने योजना बनाएकाहरु सिफारिस लिन आउने गरेको महावाणिज्यदुतको भनाई छ ।
तर, यसरी नेपालमा भएको सम्पति बेचेर अमेरिकामा सम्पति जोड्ने वा ब्यवसाय गर्नेको संख्या भने नगन्य रहेको पाइएको छ । बिशेषगरी, नेपालबाट कानुनी रुपमा रकम विदेश ल्याउन बन्देज रहेको कारण पनि त्यो संख्यामा कमी आएको हो । बाल्टिमोर आधारक्षेत्र बनाएर घरजग्गा खरिद बिक्री गरिरहेका इन्जिनियर तथा रियलस्टेट एजेन्ट कुलमणि आचार्य भन्छन, ‘पछिल्ला बर्षहरुमा अमेरिकामा रहेका नेपालीले घर किन्नेको संख्यामा वृद्धि भएपछि नेपालमा रहेको सम्पति बेचेको रकमले नै हो भन्ने आधार छैन ।’
आचार्यले भने, ‘त्यो संख्या ५ प्रतिसत पनि छैन होला, किनकी नेपालबाट औपचारिक बाटो हुदै पैसा ल्याउदैन पाइदैन, ल्याएको एकमुष्ठ पैसा पनि अमेरिकामा स्रोत देखाउनुपर्छ ’ । उनका अनुसार त्यस्तो पैसा अनौपचारिक प्रणाली, हुन्डी मार्फत ल्याउने र उपहारको रुपमा आफनै पैसा भएपनि सहयोग गरेको देखाउने उनको भनाइृ छ । जुन रकम बार्षिक कर दाखिता देखाउदा रकम उपहार पाउने र दिनेले मिलान गर्न सकिने हेतु रहेको हुन्छ ।
न्युयोर्क स्थीत महावाणिज्यदुत कार्यालयले न्युर्योक, न्युजर्सी लगायत ९ वटा राज्यहरुलाई पासर्पोट, भिजा लगायत वारिसनामाको सेवा दिदै आएको छ । यता, डिसी स्थित नेपाली दुतावासले भने त्यो संख्यामा वृद्धि भएपनि यकिन तथ्याकं भने दिन मानेन ।
तस्विर : ललितपुरको भैसेपाटीमा बिक्रिमा राखिएको ५ करोड ५० लाखको घर ।