परिवारबाट जलाइएकी हजाराको उपचारमा समस्या


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

–सन्दिप वि.क–

काठमाडौं । ६ दाजुभाइकी एक्ली बहिनी हजरा निकै लाड प्यारमा हुर्किइन् । छोरीको चाँडै विहे गर्नुपर्छ भन्ने मान्यता राख्ने मुस्लिम समुदायकी उनकोपनि साढे सत्र वर्षमै विहे भयो । आमा बुबाले आफूसँग भएको जायजेथाले नपुगेपछि ऋण निकाले । धुमधामसँग परम्परागत तरिकाले विहे गरिदिए ।

बुबा आमालेनै रोजेको केटासँग विहे भएपछि जीवन सुखका साथ नै बित्ने सोचेकी थिइन् उनले । परिपक्क नहुँदै विवाह बन्धनमा बाँधिएकी उनलाई परिवारले दिएको यातना पनि वैवाहिक जीवनको नियमित प्रक्रिया जस्तै लाग्यो । आफूमाथि अन्याय हुन थालेको कुरा छुट्याउन सकिनन् उनले । जसका कारण जीवन र मरणको दोसाँधमा छन् उनी । किर्तिपुर अस्पतालको वेड नं ६ मा मृत्युसँग लडिरहेकी हजराको घाटीभन्दा तलको पुरै भाग जलेको छ । माइती पक्ष भाव विह्वल छन् । आफूलाई बचाउँन बाबुआमा गाउँमा चन्दा संकलन गर्न थालेको कुरा कुरुवाबाट सुनिरहेकी छन् । बेलाबेलामा शारीरिक रुपमा भएको पीडा मनमा पनि गढ्दा रुन्छिन्, कराउँछिन् । तर कुराकानी गर्न सक्दिनन् ।

यही माघ २० गते घर परिवारबाटै जलिइन् हजरा । धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ की २० वर्षीया हजरा खातुनलाई उनका आफ्नै श्रीमान, ससुरा, सासु र नन्दे जलाए । घटनाको आज एक हप्ता पुगिसक्यो । तर उनको स्वास्थ्यमा कुनै सुधार आउन सकेको छैन् ।

हजरा जलिनुको एउटै कारण थियो, नागरिकता र सम्बन्ध विच्छेद । हजाराले श्रीमानको नामबाट नागरिकता चाहेको तर परिवारले सम्बन्ध विच्छेद गर्न खोजेका कारण उनको हत्या हुन खाजेको प्रहरी र उनका माइती पक्षको भनाइ छ ।

निन्याउरो अनुहारमा हजाराका काइला दाजु सरिफ राइनले भने, ‘बहिनीको यो अवस्था छ, स्वास्थ्यमा कुनै सुधार आएको छैन । जलाउँने फरार छन् । उपचारका लागि खर्च सकिदैछ, के गर्ने थाहा छैन ।’ उनले बहिनीको उपचार खर्चमा सहयोग गरिदिनका लागि सबैसँग आग्रह समेत गरे ।

शनिबारको दिन उनी घरपरिवारसँगै थिइन् । आफू पहिलेदेखि नै घरपरिवारको आँखाको तारो बनिरहेकी छु भन्ने कुरा उनलाई थाहा थिएन । बिहान करिब ८ बजे हाँसि मजाक गर्दै श्रीमान २४ वर्षीय रसिद राइनले हजाराको शरीरमा मट्टितेल छर्किएर । हजारालाई लाग्यो त्यो पानी हो । तर जब मट्टितेलको गन्ध आयो र श्रीमानले सलाई कोरेर सल्काईदिए तब मात्रै थाहा पाइन्, आफू मारिदैछु भनेर ।

आफ्नो शरीरमा आगो सल्किएपछि उनी रुँदै कराउँदै घर नजिकै पानीको पोखरीमा डुबुल्की मारिन् । हार गुहार गरिन् । तर, जोगाउनका लागि श्रीमान आउने त कुरै थिएन, सासु, ससुरा र नन्द पनि निकै बेरपछि आए । र उल्टै भन्ने थाले ‘यसले त आफ्नो ज्यानमा आफैँ आगो लगाइ ।’

हजाराका काइला दाजु राइनका अनुसार उनी जलेर घाइते भएको कुरा पनि गाउँलेले फोन गरेर जानकारी गराए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले हजाराको उद्धार गरि अस्पताल पुर्यायो । श्रीमान रसिदलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लियोे । हजारालाई जनकपुर अञ्चल अस्पतालमा उपचार हुन् नसकेपछि काठमाडौं रेफर गरिएको थियो ।

पटक–पटक मार्ने धम्की

हजरा र रसिदको विवाह भएको साढे २ वर्ष भयो । उनीहरूको सन्तान छैन । श्रीमान रसिद विवाहपछि वैदेशिक रोजगारमा साउदी गए । हजराका अनुसार उनी फर्किएको छ महिना मात्रै भो । वैदेशिक रोजगारीबाट फर्किएपछि रसिदले मेरो अन्तै लभ परेको छ, अन्तै विवाह गर्छु भन्दै धम्कि दिन्थे । उनीसँग न विवाह दर्ता छ न नागरिकता । नागरिकताका विषयमा उनीहरूबीच पटक–पटक विवाद हुन्थ्यो ।

नागरिकता नबनाइदिएपछि हजाराले माइतीको सहयोगमा नागरिकता पाउँ भन्दै करिब एक महिना अघि जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकी थिइन् । उजुरी दिएपछि श्रीमानले नागरिकता बनाइदिने सहमति समेत गरेका थिए ।

हजराका मामा हसिया मियाले भने, ‘प्रहरीमा उजुरी दिएसँगै घरपरिवारले मार्ने धक्कि दिएका थिए । जलाएरै छाडे । मार्ने उद्देश्य रहेछ ।’

विवाहको ऋण तिर्न बाँकी

हजराको माइतीले ऋण खोजेर छोरीको विवाह गरे । विवाहमा झण्डै १३ लाख रुपैयाँ खर्च भयोे । दाजु सरफले भने, ‘वहिनीको विवाहको ऋण तिर्न अझैँ बाँकी छ । बुबाले गाउँमा घरजग्गा धितो राखेर ऋण निकाल्नु भएको थियो ।’ विवाहमा नगर एक लाख रुपैयाँसहित सुन, चाँदी लगायत फर्निचरका सामानहरू दाइजो दिएको सरफले बताए ।

सासु, ससुरा र नन्द फरार

छोरीलाई जलाइएपछि हजराकी आमा खैरुल खातुनले छोरीलाई जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै २५ वर्षीय ज्वाइ रसिद राइन, हजराका ५५ वर्षीय ससुरा अलिशेख कवारी, ५० वर्षीया सासू रामसुनरी खातुन र २० वर्षीया नन्द जाहिर खातुन विरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएकी छन् । हजारालाई जलाइएको भोलीपल्ट सासू रामसुनरी खातुन हस्पिटलसम्म त आइन, तर जाहेरी परेको थाहा पाउने वित्तिकै फरार छन् । अन्य सदस्यलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

उपचारमा समस्या

हजराको उपचारका लागि अहिले समस्या भएको छ । उनको उपचारका लागि हालसम्म ४ लाख भन्दा बढी खर्च भइसकेको हजराका मामा हसिया मियाले बताए ।

उनले भने, ‘भान्जिको उपचारमा ४ लाख भन्दा बढी खर्च भइसक्यो । गाउँबाट ल्याएको पैसा सकिसक्यो । गाउँका सबै नेताहरूलाई पनि भन्यौ । सबैले सहयोग गर्छु भन्छन् । तर कसैले केही गरेका छैनन् ।’

हजराको उपचारका लागि बाबु आमाले गाउँमा चन्दा संकलन गर्न थालेको समेत उनले बताए । ‘माइती पक्षले ल्याएको रकम सकियो, घरपरिवारले केही सहयोग गरेका छैनन्’ उनले भने । हजाराको उपचारका लागि ३ लाख रुपैयाँमा भारतबाट छाला मात्रै किनेर ल्याइएको उनको भनाइ छ ।

५० प्रतिशत भाग जलेको छ ः डा.पाठक

हजरालाई उपचार गराइरहेका डा. कमलराज पाठकले उनको ५० प्रतिशत भन्दा बढी भाग गहिरोसँग जलेको बताए । महिला खबरसँग कुरा गर्दै उनले भने, ‘उनको छालामा सक्रमण देखिएको छ । अवस्था अहिले नाजुक छ ।’

उनले अहिले अस्पतालमा छालाको व्यवस्था नहुँदा भारतबाट मगाउन आग्रह गरेको बताए । उनले भने, ‘नेपालमा छालाको व्यवस्था नहुँदा समस्या छ । छाला दान गर्ने कमै हुन्छन् । अहिलेसम्म अस्पतालमा चार जनाले मात्रै छाला दान गरेका छन् । नेपालमै छाला किन्ने व्यवस्था नहुँदा छाला किन्नका लागि भारत जानुपर्ने बाध्यता रहेको र त्यो घर्चिलो पनि हुन्छ ।’

ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गर्ने तयारी

श्रीमतीलाई ज्यूँदै जलाउने राइनलाई इलाका प्रहरी कार्यालय महेन्द्र नगरले आइतबार दोस्रो पटक म्याद थप गर्ने तयारी गरेको छ । कार्यालयका सई रामेश्वर भण्डारीले उनलाई ज्यान मार्ने उधोगमा मुद्वा चलाउने तयारी गरिरहेको जानकारी दिए । यसअघि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरेको थियो । महिला खबरसँग कुरा गर्दै भण्डारीले भने, ‘युवकको थप अनुसन्धान भइरहेको छ । जाहेरी दिएका मध्ये ससुरा अलिशेख कवारी, सासू रामसुनरी खातुन र नन्द जाहिर खातुन फरार छन् । उनीहरूको खोजी कार्य जारी छ ।’

के छ कानूनमा ?

मुलुकी ऐन २०२० को कुटपिटको महलको दफा १४ को (क) मा तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराएमा वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पारेमा कसूरको प्रकृति हेरी अनुहारमा कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैँयादेखि तीन लाख रुपैँयासम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जीउमा पीडा गराएमा तीन वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजार रुपैँयादेखि एक लाख पचास हजार रुपैँयासम्म जरिवाना गर्नुपर्छ भनिएको छ । यसरी जरिवाना वापत प्राप्त पुरै रकम पीडितलाई खर्च बापत दिइनेछ भनिएको छ ।

यस्तै फौजदारी कसुर सम्बन्धि संशोधित नयाँ कानूनको अङ्गभङ्ग गर्न नहुने सम्बन्धी कसुर दफा १९० को उपदफा २ (घ)मा कुनै अनुहार वा शरीरको अन्य कुनै अङ्ग कुरुप हुने गरेमा कसूर गराउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्ष सम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ भनिएको छ । सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ भने २०७५ भदौ १ गतेदेखि लागू हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com