इजरेली हमलाप्रति रूसी र अमेरिकी चिन्ता


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

शनिवार सिरियामा आफूले गराएको हवाई हमलालाई, गएको ३० वर्षयताकै सम्भवत सबैभन्दा ठूलो हमलाका रूपमा इजरेली सेनाले व्याख्या गरेको छ।

इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले बीबीसीसँग बोल्दै दमासकस नजिकैका सैन्य अखडा हवाई हमलाको निशानामा परेको बताए।

उनले भने, “हामीले खासगरी १२ वटा फरक निशाना बनाएका थियौं, त्यसमध्ये ८ वटा इजरेली विमानलाई गोली हान्ने सिरियाली सैन्य अखडा नै हुन्।”

इजरेलको हवाई हमलाको निशानामा १२ सैन्य अखडा रहेका छन् जसमध्ये ४ वटा इरानी अखडामा निशानामा पारेको क्षेत्र रहेको बताइएको छ।

हमला

सिरियाले शनिवार गोली हानी इजरेली लडाकु विमान तल खसालेपछि उक्त हमलाहरू शुरू भएका हुन्।

इजरेलको यी पछिल्ला हमला सन् १९८२ मा लेबनानी युद्धका बेला भएको हमलापछिको सबैभन्दा महत्वपूर्ण भएको इजरेलको हवाई फौजका वरिष्ठ अधिकारी टोमर बारले बताए।

एउटा इरानी ड्रोन आफ्नो भूभागमा प्रहार गरिएपछि एफ-१६ नामक लडाकु विमानले आक्रमण थालेको तर त्यसपछि सिरियाले गोली हानी उक्त विमान खसालिदिएको इजरेलले जनाएको छ।

उत्तरी इजरेलमा उक्त विमान दुर्घटनामा पर्नु अघि नै दुईजना पाइलटहरूले प्यारासुटमार्फत सुरक्षित अवतरण गरेका थिए।

इजरेल

स्वभाविक

बीबीसीका मध्यपूर्व संवाददाता टम बेटमेनले सिरियामा भएको इजरेली हमला अस्वभाविक नभएको बताए।

तर इजरेली लडाकु विमानमाथिको क्षतिले भने तनाव चुलिएको संकेत गरेको उनले बताए।

सिरियाले गोली हानी उक्त इजरेली लडाकु विमान खसालेपछि उसले हमला थालेको हो।

अमेरिका र रूसले सीमा क्षेत्रमा भएको हिंसा बढेसँगै आफूहरूको चिन्ता बढेको बताएका छन्।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com