हिंसापीडितले न्याय नपाएको गुनासो


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

–महिला खबर–

लमजुङ । घरपरिवार र कार्यस्थलमा महिलाहरू हिंसाको सिकार हुँदै आएका छन् । हिंसा उन्मूलन गर्ने कुरा जति दोर्होयाए पनि यस्ता घटना घट्नुको साटो बढ्दै गएको र पीडितले न्याय पनि पाउन नसकेको एक कार्यक्रमका महिलाहरूले बताएका छन् ।

राइनस नगरपालिकाले आयोजना गरेको न्यायिक साक्षरता कार्यक्रममा महिलाहरूले यस्तो कुरा बताएका हुन् ।

‘न्याय दिनेहरूले लाभको आशा राखेर कानुनको व्याख्या गर्ने प्रवृत्ति रहेसम्म वास्तविक पीडितले न्याय पाउन सक्ने छैनन्’ राइनस नगरपालिका कार्यपालिका महिला सदस्य भगवती कडेंलले भनिन् ‘न्याय दिनेहरूले लाभको आशा नत्यागेसम्म सयौं पीडितले न्यायका लागि रोएर भौतारिँदै हिँड्नुपर्नेछ भने पीडकहरू पीडितकै सामु निर्भयपूर्वक हाँसी–हाँसी हिँड्नेछन् ।’

घरेलु हिंसा, पारिवारिक झै–झगडा, बहुविवाह सम्बन्धी हिंसाबाट पीडित महिलाले न्याय नपाएको उनीहरूले गुनासो गरे । पीडित महिलाहरू आर्थिक समस्याका कारण न्यायका लागि अदालतसम्म पुग्न नसकेको गुनासो गरेका थिए ।

स्थानीय नानुमाया पराजुलीले हिंसामा परेका महिलाले कसरी न्याय पाउने भन्ने विषयमा अझै पनि ग्रामीण भेगका महिलाहरू अनभिज्ञ रहेको बताइन् ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले न्यायपालिका प्रति सर्वसाधारणको बुझाई र आम धारणामा परिवर्तन ल्याउन ग्रामीण क्षेत्रमा कानुनी सचेतना कार्यक्रम गरिएको बताए ।

‘न्यायाधीशले मुख खोल्नै हुन्न, सर्वसाधारण वा सेवाग्राही बीच आउनु हुन्न जस्ता पुराना मान्यताबाट हामी उठ्नु जरुरी छ’ उनले भने, ‘अदालत, अदालती काम कारवाही, तिनका प्रकृया र अवधिजस्ता विषयमा सेवाग्राहीलाई यथेष्ट जानकारी गराएमा न्याय क्षेत्र थप प्रभावकारी बन्न सक्छ ।’

न्यायाधीश आचार्यले न्याय सम्पादन कार्यमा छिटो छरितो, गुणस्तरीय र सर्वसुलभ बनाउने कार्यमा सर्वसाधारण नागरिकको सहयोग हुन आवश्यक रहेको समेत बताए ।

राइनस नगरपालिका न्यायिक समितीका संयोजक एवम् नगरपालिकाका उपमेयर धनकुमारी गुरुङले कार्यक्रमबाट महिलाहरूले आफ्ना समस्या भन्ने र हिंसा भएमा उजुरी गर्ने बानीको विकास हुने बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com