४ वटा प्रदेशसभाको पहिलो बैठक आज, कुन प्रदेशको कार्यसूचीमा के छ?


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

काठमाडौं : चारवटा प्रदेशसभाको पहिलो बैठक अाइतबार बस्दैछ। प्रदेश २, ५, ६ र ७ प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो। यसअघि १८ माघमा प्रदेश ३ को पहिलो बैठक बसिसकेको  छ। प्रदेश १ र ४ को बैठक बस्न बाँकी छ।

चारवटा प्रदेशले आइतबार बैठकको लागि तयारी पूरा गरेका छन्। प्रदेश सांसदहरु प्रदेश राजधानी पुगिसकेका छन्। आइतबार बस्ने बैठकको लागि प्रदेश संसद्को कार्यसूची पनि बनाइएको छ।

प्रदेश २

प्रदेश २ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजे अस्थायी राजधानी जनकपुरमा बस्दैछ। शैक्षिक तालिम केन्द्रको भवनमा बस्ने बैठकको अध्यक्षता जेष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन्। प्रदेश २ का आठ जिल्लाका प्रदेशसभा सांसदहरु जनकपुर पुगिसकेका छन्। एक सय सात जना सांसद् रहेको यो प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता दलको बहुमत छ। यी दुई पार्टी मिलेर सरकार बनाउने तयारी गरेका छन्। मुख्यमन्त्री, सभामुख तथा उपसभामुख चयनका लागि दुवै दल आन्तरिक छलफलमा जुटेका छन। गएराति अबेरसम्म छलफल गरेका दलहरूले अाइतबार बिहान पनि थप छलफल गर्ने जनाएका छन्।

प्रदेश ५

प्रदेश ५ को पहिलो प्रदेशसभाको बैठक अस्थायी राजधानी रूपन्देहीको बुटवलमा बस्दैछ। संघीय संसद् सचिवालयका सहसचिव सुरेन्द्र अर्यालका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठक संसद् भवन खयरघारीमा बस्नेछ। बैठकमा प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेशसभाको पहिलो बैठक आह्वानसम्बन्धी प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेछन्। पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा एक दलको एक जनाका दरले ६ जनाले बोल्ने तयारी गरिएको छ।

प्रदेश ६

प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठक पनि दिउँसो १ बजेलाई बोलाइएको छ। पहिलो संसद् बैठकमा वैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचनको मिति तोक्ने र दलका सांसदहरुले भनाइ राख्ने कार्यसूची रहेको संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभाको बैठकका लागि अस्थायी राजधानी सुर्खेतको सिँचाइ विभाग डिभिजनको भवन सजाइएको छ। सञ्चारकर्मीलाई समाचार स‌कलनका लागि अडियो र भिडियोको व्यवस्था बैठक हलबाहिर मिलाइएको छ। प्रदेशसभाको पहिलो बैठकका लागि सांसदहरु सुर्खेत पुगिसकेका छन्।

प्रदेश ७

प्रदेश ७ को पहिलो प्रदेशसभाको बैठक अस्थायी राजधानी कैलालीको धनगढीमा बस्दैछ। बैठक दिउँसो १ बजेनै जिल्ला समन्वय समितिको सभाकक्षमा बस्ने तयारी गरिएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले शनिबार सर्वदलीय बैठक बोलाएर बैठकको एजेण्डा तय  गरेका छन्। बैठकका लागि जिल्ला समन्वय समितिको सभाकक्षलाई व्यवस्थित बनाइएको र  प्रदेशसभाका सांसद् पनि बैठकमा सहभागी हुन धनगढी पुगिसेकका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com