अनमी र अहेब डाक्टर बनेर चलाउँछन् अस्पताल


प्रकाशित मिति : माघ २०, २०७४ शनिबार

अर्जुन अधिकारी। चिकित्सकीय अभ्याससम्बन्धी कुनै पनि ज्ञान नभएका अवैध चिकित्सको बिगबिगी राजधानीबाहिर पनि बढेको पाइएको छ । चिकित्सासम्बन्धी योग्यता र अनुमतिविनै उपचार गरी बिरामी ठग्ने स्वास्थ्यकर्मी राजधानीबाहिरका सहरमा बढेको सरोकारबालाले बताएका छन् । उपभोक्तावादी संस्था र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थालेको प्रारम्भिक अनुसन्धानले राजधानीसँगै राजधानीबाहिर पनि‘अवैध’ चिकित्सकको बिगबिगी रहेको देखाएको छ।

तराईका अधिकांश जिल्लामा चिकित्सकीय ज्ञान नभएका व्यक्तिले उनपचारको नाममा नागरिकको स्वास्थ्यमा खेलबाड गरिरहेको प्रारम्भिक अनुसन्धानले देखाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख पुष्कर कार्कीले बताए । ‘राजधानीबाहिरबाट पनि आम नागरिकबाट व्यापक मात्रामा गुनासो आएको छ,’ उनले भने, ‘आधारभूत स्वास्थ्य सेवाका नाममा नागरिक ठगिएका छन् । त्यस्ता स्वस्थ्य संस्था र स्वास्थ्यकर्मीलाई हामी तत्काल अप्रेसन गर्दै छौँ ।’ राजधानीका सामान्य क्लिनिकबाट सुरु भएको अप्रेसन देशैभरि पुग्ने पुग्ने कार्कीको भनाइ छ ।

काउन्सिलको आपत्ति
राजधानीबाट बिरामी ठगेको आरोपमा अस्पताल सञ्चालक र विदेशी नागरिकसहित २० जनालाई प्रहरीले पक्राउ गरेसंँगै उपत्यकाबाहिर पनि ‘अवैध’ चिकित्सकको बिगबिगीले नागरिक ठगिएको विषय बाहिर आएको हो । नेपाल मेडिकल काउन्सिलले राजधानीबाहिर पनि स्वास्थ्य संस्थामा चरम लापरबाही भएको भन्दै अनुगमनलाई प्रभावकारी बनाउन माग गरेको छ । काउन्सिलका एक उच्च अधिकारीले नयाँ पत्रिकासंँग भने, ‘काठमाडौंमा भन्दा काठमाडौंबाहिर ‘अवैध’ चिकित्सकको बिगबिगी छ । यसलाई निरुत्साहित बनाउन सबै निकाय लाग्नुपर्छ ।’

नेपाल–भारतको सीमानजिक भएका कारण पनि तराईमा बढी समस्या रहेको ती अधिकारीले बताए । ‘अनमी, अहेबले बिरामीको स्वास्थ्य परीक्षण गर्न पाउँछन्, तर उनीहरूले पे्रस्किप्सन र आफूलाई डाक्टर लेख्न पाउँदैन,’ उनले भने ।

तराईका औषधि पसलमा फर्मासिष्ट नहुने र जसले भेटायो उसैले औषधि वितरण गर्ने गरेका अनुगमनमा देखिएको छ । ‘सिनियर अहेब, हेल्थ असिस्टेन्ड लेख्दा हुने हो, तर, उनीहरू बोर्ड र प्रेस्किप्सनमै डाक्टर लेखेर सेवा दिइरहेका छन्,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले भने । बिरामीको उपचार गर्न नेपाल मेडिकल काउन्सिलको अनुमति आवश्यक पर्छ ।

अनमी र अहेबले प्रेस्किप्सन लेख्छन्
तराईका अघिकांश जिल्लाका स्वास्थ्य संस्थामा अनमी र अहेबले आफूलाई डाक्टर दाबी गर्दै बिरामीको उपचार गर्ने गरेका छन् । केही समयअघि राष्ट्रिय उपभोक्ता मञ्च र आपूर्ति व्यवस्था विभागले तराईका विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा स्वास्थ्य क्षेत्रमा चरम लापरबाही हुने गरेको पाइएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । बारा बंकुल, बनियाइन, सिमरनगड, गडीमाईलगायत क्षेत्रमा ‘अवैध’ चिकित्सकको बिगबिगी रहेको महर्जनले बताए । सरकारले अनमी र अहेबले बिरामी हेर्न पाउने भनेर केही महिनाअघि सम्झौता गरे पनि उनीहरूले डाक्टर लेख्न र प्रेस्किप्सनमा औषधिको नाम लेखेर सिफारिस गर्न पाउँदैनन् । महर्जनका अनुसार तराईका स्वास्थ्य संस्थामा कार्यरत अनमी, अहेबले डाक्टर भनेर अस्पतालमा बोर्ड राखेर बिरामीको उपचार गर्दै आएका छन् । स्वास्थ्यजस्तो संवेदनशील विषयमा स्वास्थ्य मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यलय रमिते बनिरहेको समेत उनले आरोप लगाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com