प्रहरीले आन्दोलनमा दमन गरेको आरोप


प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार

–महिला खबर–

काठमाडौं । एक सूत्रीय माग राख्दै शान्तिपूर्ण आन्दोलन गर्दै आएका सामाजिक परिचालकहरूले प्रहरीले दमन र हिंसा गरेको आरोप लगाएका छन् । १८ दिनदेखि आन्दोलनमा उत्रिएका उनीहरूले आन्दोलन दवाउन प्रहरीले दमन गरेको आरोप लगाएका हुन् ।

स्थानीय विकास मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णयले देशभरका सामाजिक परिचालहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै सेवाबाट बिदाई गर्ने निर्णय गरेपछि नेपाल सामाजिक परिचालक कर्मचारी संघ स्थानीय तहमा कर्मचारीहरूलाई कर्मचारीको रुपमा समायोजन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको हो ।

स्थानीय निकायमा जनप्रतिनिधिहरू नहुँदा सामाजिक परिचालकहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि सरकारले सामाजिक परिचालहरूको रोजिरोटी खोस्ने काम गरेको संघको भनाइ छ ।

९ वर्षदेखि स्थानीय तहमा काम गर्दै आएका सामाजिक परिचालकहरूले स्थानीय तहका अन्य कर्मचारी सरह योग्यताका आधारमा उमेरको हदबन्दी नलगाई समायोजन गराइनुपर्ने माग राखेका छन् ।

नेपाल सामाजिक परिचालक कर्मचारी संघकी अध्यक्ष सारीका राईले राजनीतिक तहका शीर्ष नेतादेखी मन्त्री, प्रधानमन्त्रीसम्मलाई आफूहरूले ज्ञापन पत्र बुझाएको बताइन् । आफ्नो अधिकार प्राप्तिका लागी निरन्तर संघर्ष गर्दा पटक–पटक प्रहरीले दमन एवम् महिला हिंसा गरेको संघकी सदस्य सिता पौडेल बताउँछिन् ।

माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध गर्दा प्रहरीले लात्तिले हान्ने लगायत दुव्र्यवहार गरी केही सामाजिक परिचालकलाई नियन्त्रयमा लिएको पौडेलको आरोप छ । प्रहरीको दमनबाट ४ जना सामाजिक परिचालन घाइते छन् ।

आफूहरूको मागप्रति सरकार गम्भिर नभए सशक्त आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । सामाजिक परिचालकहरूको अधिकारको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमनप्रति विभिन्न संघसंस्था एवं राजनीतिक दलका जनवर्गीय संगठनहरूले समेत खेद प्रकट गरेका छन् । नेपालमा झण्डै पाँच हजार सामाजिक परिचालक रहेका छन् । जसमध्ये ९० प्रतिशतभन्दा बढी महिला छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com