एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वारजबीच भेटवार्ता


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौँ आइपुगेकी स्वराजले नेपालका उच्चअधिकारीहरुसँगको भेटवार्ता भावी प्रधानमन्त्रीका रुपमा लिइएका अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।

भेटका क्रममा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीकारुपमा मोदीको तर्फबाट बधाई सन्देश सुनाउने कार्यक्रम छ । यसअघि मोदीले ओलीलाई फोन गरेर भावी प्रमका रुपमा बधाई तथा भारत भ्रमणको निम्तो दिएका थिए ।

दुई वर्षअघि ओली नै प्रधानमन्त्री भएका बेला ६ महिनासम्म भारतले नाकाबन्दी गरेपछि विग्रिएको सम्बन्ध सुधारको प्रयासका रुपमा यो भेटवार्तालाई लिइएको छ ।

मोदीकै इच्छामा बिना पूर्वतयारी भएको यो भ्रमणमा आफ्ना कुनै एजेन्डा नभएको स्वराजले काठमाडौँ झर्नेवित्तिकै बताएकी थिइन् । उनले यसलाई सांस्कृतिक भ्रमणको संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउन आफू नेपाल आएको बताएकी थिइन् ।

सुस्मा एयरपोर्टमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएर होटल सोल्टी पुगेकी हुन् । ओली बालकोटस्थित निवासमा वाम गठबन्धनको बैठक राखेर सोल्टी पुगेका हुन् ।

सुस्मालाई भेट्नुअघि प्रचण्डसहितको दुई पार्टीको बैठकमा भारतीय पक्षसँग गरिने छलफलका एजेन्डाबारे पनि कुराकानी भएको स्रोतको भनाई छ ।

यो भेटका क्रममा सुस्माले भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिएर विगतमा बिग्रेको सम्बन्धलाई ‘कोर्ष करेक्सन’ का लागि पहल गर्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com