रुसी खेलाडीविरुद्धको प्रतिबन्ध फुकुवा


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

खेलसम्बन्धी विवादको मध्यस्थ गरी निरुपण गर्ने स्वतन्त्र निकाय, कोर्ट अफ आर्विट्रेसन फर स्पोर्टस्‌ (कास) ले रुसका प्रतिबन्धित २८ जना ओलिम्पिक खेलाडीविरुद्ध लागेको प्रतिबन्ध फुकुवा गरेको छ।

उक्त निकायले भनेको छ, २८ जना खेलाडीको हकमा प्रतिबन्धित औषधी प्रयोग गरेको आरोप पुष्टि गर्न आवश्यक ‘प्रमाण अपुग’ भएकोले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको हो।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीले दिएको प्रमाण अपुग भएको भन्दै उसले सन् २०१४ मा भएको प्रतियोगितामा ती खेलाडीले देखाएको प्रदर्शन अब पुनर्स्थापित हुने बताएको छ।

सन् २०१४ मा सोचीमा सम्पन्न हिउँदे ओलिम्पिक्समा प्रतिबन्धित औषधी प्रयोग गरेको आरोपमा उनीहरुविरुद्ध अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीले प्रतिबन्ध लगाएको थियो।

कमिटीले कासको पछिल्लो निर्णयले भविष्यमा प्रतिबन्धित औषधी प्रयोगविरुद्धको लडाईंलाई असर पर्ने जनाएको छ।

कासले भने आफ्नो क्षेत्राधिकार रुसले सङ्गठित रुपमै प्रतिबन्धित औषधीको प्रयोग गराएको बारे निर्क्योल गर्नु नभइ केवल खेलाडीको व्यक्तिगत मुद्दाको छिनोफानो गर्नु रहेको जनाएको छ।

तर आंशिक रुपमा प्रतिबन्ध कायम रहेका ११ जना खेलाडीको हकमा उनीहरुले खेलमा प्रतिबन्धित औषधी प्रयोगबारे नियम उल्लंघन गरेको यथेष्ट प्रमाण भेटिएको उक्त निकायले जनाएको छ।

प्रमाण
ती खेलाडीहरु ओलिम्पिक्सका लागि ‘आजीवन प्रतिबन्धित’ हुनुको सट्टा आगामी महिनामा हुने हिउँदे ओलिम्पिक खेलका लागि ‘अयोग्य घोषित’ हुनेछन्।

आगामी फेब्रुअरी महिनाको ९ तारिखमा दक्षिण कोरियाको प्योङ्गचाङ्गमा हिउँदे ओलिम्पिक्स शुरु हुँदैछ।

वर्ल्ड एन्टी डोपिङ्ग एजेन्सी वाडाको स्वतन्त्र आयोगले प्रतिबन्धित औषधी सेवन विषयमा रुसी खेलाडीहरुसँग जोडिएको आरोपबारे छानबिन गरेको थियो।

कूल ४३ जना रुसी खेलाडीहरुमाथि प्रतिबन्ध लगाईएकोमा केही खेलाडीको प्रतिबन्ध फुकुवाको लागि गरेको आवेदन खारेज गरिएको थियो।

रुसी ओलम्पिक कमिटीका प्रमुखले प्रतिबन्ध फुकुवा गरिएपछि रुसी खेलाडीको राम्रो छविको पुनर्पुष्टि भएको बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com