कपिलवस्तु गाई गोरु तस्करीका लागि मुख्य केन्द्र बन्दै


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

माघ १८, भारतका बिभिन्न क्षेत्रबाट जमिन जोत्ने उद्देश्य देखाई कपिलबस्तु भित्राएर कागजात मिलाएरै ठूलो संख्यामा दैनिक रुपमा गोरु तस्करी हुने गरेको हो ।

आवश्यक कागजात भएपछि तस्करहरू प्रहरीकै अगाडि ट्रकमा लोड गरेर पूर्वी नेपाल हुँदै तेस्रो मुलुक बंगलादेशसम्म लैजाने गरेका छन् ।

कपिलबस्तुका सीमावर्ती क्षेत्रमा गोरु संकलन गरी ट्रकमा लोड गरेर पूर्वी नेपालको झापा, सप्तरी, महोत्तरी, मकवानपुरको नाका हुंदै तेस्रो मुलुक बंगलादेशमा मासुका लागि निकासी गर्ने गरेको बुझिएको छ ।

हिन्दू धर्ममा गाई र गोरुको विशेष महत्व रहने भएकाले नेपालभर गाई(गोरु काटमार गरे दण्डनीय अपराधका रूपमा मानिने भएकाले सो प्रयोजनका लागि ओसारपसार गर्न नपाइने भएपछि तस्करहरूले कागजात मिलाएर तस्करी गरिरहेका छन् ।

जोत्ने प्रयोजनका लागी गोरु बिक्री बितरण गरिएको भन्ने लिखित÷मौखिक जानकारी दिएरै सिफारिस गर्ने गरेको पशु क्वारेन्टाइनले जनाएको छ ।

भन्सार र क्वारेन्टाइन गराएरै जोत्ने प्रयोजनका लागि हेटौंडा लैजान भन्दै बुधबार राति कपिलबस्तुको शुद्धोधन गाउँपालिका, ५ वरहाबाट ३ वटा ट्रक गोरु लोड गरिएको अवस्थामा फेला परेको थियो ।

ना ६ ख ३१, ना ६ ख ३७२४ र ना ६ ख ३७३२ नम्बरका ट्रकमा लोड गरी झापा, मकवानपुर पुर्याउने इराकी पशुबजार नन्दनगर, २ का सञ्चालक जमाल अहमद खांले जानकारी गराए ।

विशेष गरी कुशहवा, भिल्मी, ठाकुरापुर र लक्ष्मीनगर नाकाबाट गोरु नेपाल भित्रने गरेका छन् । गोरुको अवैध तस्कारी भइरहेको गुनासो आएपनि सो कदम रोक्न स्थानीय प्रशासनले कुनै पहल गरेको छैन ।

गोरु तस्करले नेपालको भूमि प्रयोग गर्दै बंगलादेशसम्म गोरु पुरयाउने गरेका छन् ।

जिल्लाको यशोधरा गाउपालिकाको सुठौली, कपिलबस्तु नगरपालिकाको रामघाट, नन्दनगर, बहादुरगंज लगायतका पशु हाटबजार लाग्ने तथा सीमापारिका गाउँहरूबाट खुला सिमानाको फाइदा उठाउँदै गोरु तस्करीका लागि गोरु संकलन गरेर भन्सार र पशु क्वारेन्टाइन गरी पूर्वी नेपालका विभिन्न जिल्लामा भण्डारण गर्दै तेस्रो मुलुक बंगलादेश लगायतका देशमा पुर्‍याउने गिरोह नै सञ्चालनमा छ ।

भारतबाट अवैधरुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीको मिलेमतोमा गोरुको नेपाली कागज बनाइएको स्रोतले बताएको छ ।

खुला सीमाको फाइदा उठाउँदै ती स्थानमा कृषि प्रयोजनका लागि भन्दै भित्राइएका गोरुका लागि क्वारेन्टाइनका कर्मचारीहरुले कागज बनाई दिएबापत अतिरिक्त रकम लिने गरेको बिक्रेता अजय कुमारले जानकारी दिए ।

बंगलादेशमा गोरु मासु खान प्रयोग गरिने हुँदा यसको माग उच्च रहेको बताइन्छ । यहाँबाट लगिएको गोरु त्यहाँ तेब्बर मूल्यमा बिक्री हुने स्रोतको दाबी छ ।

जिल्लाको नन्दनगर, पकडी, धनकौली लगायत आधा दर्जनभन्दा बढी स्थानमा अझै पनि रातारात गोरु तस्करले गोरु लोड गर्ने गरेका छन् ।

यसअघि पनि कपिलबस्तुमा ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा गोरु लोड गरी लैजाँदै गरेको अवस्थामा खरेन्द्रपुरबाट पक्राउ परेका थिए ।

तस्करले भाडाका मानिसबाट गोरु हिँडाउँदै जिल्ला ल्याउने र ट्रकबाट गन्तव्यमा पुर्‍याउने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com