प्रचण्डकै लाइनमा ओली, भने- मलाई भेट्न बालकोट नआउनू


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चाहनुहुन्छ? यदि चाहनुभएको छ भने अब ओलीको निजीनिवास बालकोट धाउने दु:ख नगर्नुस्। अब एमाले अध्यक्ष ओली बालकोटमा नभएर सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भेटिनेछन्। एमाले अध्यक्ष ओली हप्ताको सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबार र नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटिनेछन्।

राजनीतिक होस् वा अन्य भेटघाट बालकोटमा हुँदा भिडभाड व्यवस्थापनमा समस्या भएको भन्दै बुधवारदेखि ओली सचिवालयले भेटघाटको कार्यक्रम संसदीय दलको कार्यालय र पार्टी कार्यालय धुम्बाराहीमा व्यवस्थापन गरेको ओलीका नीजि सचिव अनिश दाहालले जानकारी दिए। केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्‍डले पनि आफूलाई भेट्न खुमलटार नआउन आग्रह गरेका थिए।

प्रचण्डले अत्यावश्यक भेटघाटबाहेक सबै भेटघाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा गर्ने जानकारी दिएका थिए। ओलीले पनि अति आवश्यक र विशिष्ट प्रकृतिको भेटघाट  बालकोट निवासमै गर्ने ओली सचिवालयले जनाएको छ।

‘निवासमा बढी भिडभाड भएका कारण भेटघाट व्यवस्थापनमा असहजता उत्पन्न भयो। त्यसकारण उहाँको भेटघाटको कार्यक्रमलाई व्यवस्थापन गर्न कार्यालयमा व्यवस्था गरिएको हो’ दाहालले भने, ‘संसदीय दलमा संसदीय तथा विकास मामिलासम्बन्धी भेटघाट हुनेछ।

पार्टी कार्यालयमा राजनीति र पार्टी कामसबन्धी भेटघाट गरिनेछ।’ पार्टी कार्यालयको भेटघाटको व्यवस्थापन प्रमुख नीजी सचिव देवराज घिमिरे, संसदीय दलको भेटघाटको व्यवस्थापन नीजि सचिव अनिश दाहाल र निवासमा हुने भेटघाट व्यस्थापनको जिम्मेवारी सचिव राजेश बज्राचार्यलाई दिइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com