प्रदेश नं ३ मा टुंगो लाग्यो मन्त्री कार्यालय र आवास


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

हेटौँडा, १६ माघ। प्रदेश नं ३ को पहिलो प्रदेशसभा बैठक तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीका अनुसार बैठक कक्षमा रंगरोगनदेखि मुख्यमन्त्री तथा अन्य कार्यालय तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । माघ १८ गते प्रदेश सभा बैठक तोकिएसँगै व्यवस्थापनमा जुटेका कर्मचारीले तयारीको कार्यलाई तीव्र गति दिएका थिए ।

पहिलो प्रदेश सभा बैठकका लागि माघ ७ गते प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको संसद् सचिवालयको सभाहललाई व्यवस्थित बनाउनेदेखि अन्य सिङ्गारपटारका काम अहिले अन्तिम चरणमा भइरहेको छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव ज्ञवालीले भन्नुभयो, “११० जना माननीयलाई व्यवस्थित ढंगले राख्न कुर्सी व्यवस्थापन र सभाहल आकर्षक बनाउने काम लगभग सकिएको छ ।” उहाँले थप्नुभयो, “रंगरोगनदेखि कार्पेट राख्ने, पर्दा फेर्ने सकिएको छ भोलिसम्मका लागि रोस्टम बनाउनेलगायत काम गर्दैछौँ ।”

माघ ७ गते शपथ खुवाउँदा सभाकक्ष व्यवस्थित नभएकाले तस्बीर खिच्नसमेत कठिनाइ भएको सचिव ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार साँघुरो सभाहल र छोटो तयारीमा भएको शपथग्रहणमा सांसदलाई बस्न असजिलो भएको थियो । यसपटक उक्त कक्षको स्वरुप नै परिवर्तन हुने उहाँले जानकारी दिनुभयो ।

अब निरन्तर संसद् सभाहलमा सभा भइरहने भएकाले यसलाई व्यवस्थित गर्ने काम शुरु भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका प्रमुख सुदीप आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “तर संसद् सचिवालयबाट अनुभवी जनशक्ति आई नपुगेकाले कसरी काम गर्ने भन्ने अन्योल छ ।”

त्यसैगरी प्रदेशस्तरीय कार्यालय रहने भएपछि केही सरकारी कार्यालय भाडाको घरमा सार्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको छ ।

प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको जनाइएको छ । मुख्यमन्त्रीको निवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा रहने भएको छ । अख्तियार भने आफ्नै नयाँ भवनमा सर्नेछ ।

सभामुख र उपसभामुख सडक डिभिजन कार्यालयको कम्प्लेक्समा रहने प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनुभयो । प्रदेशका सबै मन्त्रीको सामूहिक निवास भने हेटौँडा सिमेन्ट उद्योगको क्वार्टरमा हुने उहाँले बताउनुभयो ।

मुख्यसचिवको निवास क्षेत्रीय वन कार्यालयको निवासमा हुने भएको छ । तत्काल रहने सात मन्त्रालयका सचिवको सामूहिक निवास भने डिभिजन सडक कार्यालयको कम्प्लेक्समा रहने प्रजिअ बुढाले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com