साइबर अपराधः किन हुँदैन कारवाही ?


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

–महिला खबर–

काठमाडौं । सिन्धुली घर भई हाल काठमाडौं सोह्र खुट्टे बस्दै आएकी कृपा लामिछाने (नाम परिवर्तन) गत बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा भेटिइन् ।

पारिवारिक रिसिइबीका कारण गाउँकै एक युवाले आफ्नो फेसबुकमा कृपाको फोटो हालेर गाली बेइज्जत गरेपछि उजुरीका लागि उनी महाशाखामा आएकी रहिछिन् ।

फेसबुकमा फोटो पोष्ट गरेको दिन पनि प्रहरीकोमा आए । तर प्रहरीले यहीबाट अपराध महाशाखाबाट नै स्क्रिन खिच्नुपर्छ भन्यो । मेरो फोटो राखेर गाली बेइज्जत गरेको छ । मोबाइलबाट स्क्रिन सर्ट सुरक्षित राखेको छु । अहिले त्यो केटाले त्यो पोष्ट हटाइसकेको छ । प्रहरीले भने निवेदन लिन मानेको छैन्’ उनले भनिन् । अहिले कृपा मानसिक तनाबमा छिन् । ‘प्रहरीले केही गर्दैन । कति धाउनु प्रहरी चौकी मात्रै ? दिक्क लागिसक्यो’ कृपाले निरासा व्यक्त गरिन् ।

कपिलवस्तुकी मास्मी (नाम परिवर्तन)लाई फेसबुक म्यासेन्जरमा उनको आफ्नै नग्न तस्विर र अश्लिल भिडियो कसैले पठायो । तस्वीर र भिडियो पठाउने चिनजानकै व्यक्ति थिए । फेसबुकमा भएको केही महिनाको चिनजानलाई मास्मी र गोपालले विवाहमा परिणत गर्ने सोच बनाएका थिए ।
२०७३ असोजमा गोपालले मास्मीलाई भेट्न बेलाए । गोपाललाई भेट्न पुगेकी मास्मीलाई तुरुन्तै विवाह गर्नुपर्छ भन्दै गोपालले प्रलोभन देखाए र दुई दिनसम्म उनीहरु होटलमा बसे ।
त्यस समयमा गोपालले मास्मीसँगको भिडियो र नग्न तस्वीर खिचिसकेका रहेछन् । यस बारेमा अनभिज्ञ रहेकी मास्मीलाई गोपाल विवाहित हुन् भन्ने समेत थाहा थिएन् ।

मास्मीले घरमा कसैलाई पनि जानकारी नदिई घर छोडेकी थिइन् । उनका बुबा आमाले छोरी हराएको भन्दै खोजबिन सुरु गरे । मास्मीले बुबाआमासँगको भेटपछि मात्रै थाहा पाइन् की, गोपाल त विवाहित रहेछन् । विवाहित गोपालसँग मास्मीको विवाह नगर्ने दुवै पक्षको प्रहरीमा सहमतिसहित उनीहरू अलग अलग भए ।

गोपालले केही दिनपछि मास्मीलाई आफूसँग विवाह नगरे नग्न भिडियो र तस्वीर भाइरल गर्छु भन्दै धम्की दिन थाले । २०७४ असार ११ गते गोपालले मास्मीको नग्न तस्वीर र भिडियो म्यासेन्जरमा पठाएपछि उनी छाँगाबाट खसेजस्तै भईन् । उनले गोपाललाई फेबुबाट ब्लक समेत गरिन् । तर पनि गोपालले मास्मीको पछि लाग्न छाडेनन् । उनको नामको फेक आइडी बनाएर साउन २३ गते सबै आफन्तहरूलाई भिडियो र तस्वीर पठाउन थालेपछि उनी कानुनी उपचार खोज्दै अपराध महाशाखा टेकु काठमाडौं पुगिन् ।
गोपाल अहिले पोर्चुगलमा बस्छन् । उनले त्यहाँबाट दैनिक उनको फेक आइडी बनाएर भिडियो र तस्वीर फेसबुक मार्फत सार्वजनिक गर्दै आइरहेका छन् । यता मास्मीले भने कुनै कानुनी उपचार पाउन सकेकी छैनन् । (प्रहरीले के भन्छ यो विषयमा ? निवेदन दर्ता भएको छ की नाई )

रुकुमको चौर जाहडेकी निर्मला (नाम परिवर्तन) लाई रोजगारीका लागि मलेसिया पुगेका श्रीमानले विदेशबाट फेसबुकमा गालि गलौचसहित धम्की दिन थाले । पैसा कमाउन विदेश गएका श्रीमानबाट उल्टै डर, धम्की र गाली बेइज्जती बढ्न थालेपछि उनी निकै तनावमा परिन् । आफ्नो प्रेमविवाह भएको एक वर्षै हुन लागेको उनले महिला खबरलाई बताइन् ।

‘उसले मेरो फेसबुक चलाएको थियो । तर फेसबुकमा नराम्रो, नराम्रो पोष्ट गर्न थाल्यो । अझ फेसबुकमै मेरो नम्बर समेत हाल्न थाल्यो’ निर्मलाले भनिन्, ‘आफ्नै श्रीमानले यस्तो पोष्ट गर्न थालेपछि उजुरीका लागि जिल्ला प्रहरी कार्यालयमा समेत पुगे । तर प्रहरीले उल्टै हप्काएर पठायो । उजुरी नै लिन मानेन् ।’

२० वर्षीया निर्मला अहिले माइत सुर्खेतमा बसिरहेकी छन् । ‘प्रहरीमा जादा समेत न्याय नपाउँदा नरमाइलो लाग्यो । निवेदन लेख्छु भन्दा पनि निवेदन लेख्न दिएनन्’ उनले गुनासो गरिन् ।’

पछिल्लो समय सामाजिक सञ्जालका विषयलाई लिएर प्रहरीसम्म पुग्नेको संख्या ठूलो छ । फेसबुक, ट्वीटर, इमेल, ह्वाट्सएप लगायतका सामाजिक संजालको माध्यमबाट गाली बेइज्जती, डर, धम्की देखाउने विरुद्ध प्रहरीसम्म जाने मान्छे मध्ये न्याय पाउनेको संख्या न्यून छ । जसले गर्दा पीडकहरूको मनोवल बढिरहेको देखिन्छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार आर्थिक वर्ष ०७१-७२ मा परेका तीन सय ५ वटा उजुरीमध्ये सामाजिक सञ्जाल दुरुपयोगका १२ केशमा मुद्धा चलाइएको थियो ।

यस्तै आव २०७२-७३ मा परेका आठ सय ३० वटा उजुरी मध्ये सामाजिक सञ्जालका १७ वटा केशमा मुद्धा चलाइएको छ भने आव २०७३-७४ मा परेका ११ सय ९७ उजुरीमध्ये सामाजिक सञ्जालका २२ वटा केशमा मुद्धा दर्ता गरिएको छ ।

यस्तै पछिल्लो आव २०७४-७५ को साउनदेखि हालसम्म आएका भएका ६ सय ५१ विद्युतीय अपराध ऐन (साइबर अपराध)का निवेदनमध्ये १२ वटा सामाजिक सञ्जालका केशमा मुद्धा दर्ता भएका छन् ।

सामाजिक अपराध तथ्यांक शाखाका सव–इन्सपेक्टर राजेश महर्जनका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पीडित हुनेमा महिलाहरू बढी छन् । उनका अनुसार नेपालमा ६० लाख भन्दा बढी फेसबुक प्रयोगकर्ताहरू छन् । सामाजिक संजालको माध्यमबाट पीडित हुने मध्ये ८ प्रतिशत मात्रै उजुरी गर्न आउँछन् । त्यसमा पनि ९९ प्रतिशत पीडित महिलाहरू हुने गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता बढी भएपनि सम्बोधन गर्ने निकाय केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) र अपराध महाशाखा मात्रै हुँदा समस्या भएको महर्जनले बताए । सामाजिक अपराधका विषयलाई नेपाल सरकारकै नीतिमा राख्नुपर्ने उनको भनाइ छ ।

महाशाखाका अनुसार मुद्दा परेका मध्ये बढी पीडित महिला हुने गरेको बताए । उनी भन्छन्, ‘तथ्यांक हेर्ने हो भने बढी महिला फेसबुक, इन्टरनेट तथा मोबाइल फोनमार्फत चरित्र हत्या, हिंसा फैलाउने कार्य, गाली बेइज्जती गर्ने यौनजन्य हिंसा जस्ता अपराधबाट पीडित छन् ।’

नेपालमा सामाजिक सञ्जालको विकाससँगै विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर, पासपोट ह्याक गरेर अपराध गर्ने गरेको महाशाखाको भनाइ छ । यो कार्यमा २५ देखि ३० वर्ष उमेरका मानिस बढी संलग्न भएको देखिन्छ । अझ पछिल्लो समय विदेशबाट सामाजिक सञ्जाल मार्फत महिलालाई मानसिक तनाब दिने पनि बढी छन् ।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ऐनको दफा ४७ का अनुसार साइवर अपराध गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर झन्झटिलो न्याय प्रक्रियाकै कारण पीडितले सजिलै न्याय पाउन सकेका छैनन् ।

फौजदारी संहितामा साइबर अपराध

फौजदारी अपराध संहितामा साइबर अपराधलाई छुट्टै राखिएको छैन । तर उक्त ऐनको दफा ३०५ मा बेइज्जती गरेमा हुने सजाय भनेर उल्लेख गरिएको छ । उपदफा १ मा कसैले कसैको बेइज्जती गरेमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनिएको छ । तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेमा सो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनिएको छ ।

यस्तै उपदफा २ मा कसैले कसैलाई बेइज्जती गरेको ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा सो कुरा समेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्वामा लागेको खर्च समेत गराउनुपर्नेछ भनिएको छ । उक्त संहिता राष्ट्रपतिबाट प्रमाणिकरण भई २०७५ भदौ १ गतेबाट लागू हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com