Follow @khasokhasmag

नेपाली सेनाले बनाइदियो धारा, सुख्खाग्रस्त गाउँमा


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

माघ १६ , तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्यअन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो ।

गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा अगाडिको याकुम्बामा धारा निर्माण गरिदिएको गुल्मपति सेनानी महेश्वर कार्कीले बताए । गुल्मका अधिकृतसहित पाँच दर्जनभन्दा बढी सेनाले आफैँ श्रमदान गरी धारा बनाएका थिए । धारा निर्माणका लागि स्थानीयवासी समेतले सहयोग पुर्याएका जनाइएको छ ।

धारामा वरिपरि प्लास्टर गरी धारा परिसरमा तारजालीले घेराबारासमेत गरिएको छ । धारा निर्माणपछि स्थानीयवासीसँगै बटुवालाई समेत सहजता हुने स्थानीय पदमबहादुर तुम्बाहाम्फेले बताए ।

जीर्ण अवस्थामा रहेको धारा सेनाले बनाइदिएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । यसअघि पनि इन्द्र दल गुल्मले जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक काम गरी नागरिकसँग सम्बन्धलाई सुमधुर बनाउँदै आएको छ ।

रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com