बाथ मुटुरोगको निःशुल्क उपचार लिनेहरु सहिद गंगालालमा बढ्दै


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

माघ १५, काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले छोटो समयमै पाँच सय ९६ जना बाथ मुटुरोगीको सम्पूर्ण शल्यक्रिया निःशुल्करुपमा गरेको छ।

गत आर्थिक वर्ष २०७३÷७४ को फागुन महिनादेखि मुटुरोगीको निःशुल्क शल्यक्रिया गर्ने सरकारको योजना अनुसार केन्द्रले उक्त सेवा दिएको हो।

उक्त कार्यक्रम सञ्चालनका लागि सरकारले केन्द्रलाई चालू आर्थिक वर्षमा १५ करोड ९० लाख रुपैयाँ बजेट दिइएको थियो।

केन्द्रले सोही कार्यक्रमअन्तर्गत करिब ६ सय बाथ मुटु रोगीहरुको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको समेत घोषणा गरेको छ।

केन्द्रले गत आर्थिक वर्षमा २२ हजार ४४ जना विपन्न विरामीको उपचार गरेको जनाएको छ।

केन्द्रले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो।

९ शैयाबाट आफ्नो सेवा सुरु गरी दुई सय शैयाको क्षमतामा विस्तार भएको उक्त अस्पतालका निर्देशक डा.ज्योतीन्द्र शर्माले केन्द्रबाट उपचारको क्षेत्रमा उपलब्धि हासिल भइरहे पनि एकेडेमिक प्रतिष्ठान नभएका कारणले देशको आवश्यकताअनुसार जनशक्ति उत्पादन तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. गिताभक्त जोशीले सात ओटै प्रदेशमा केन्द्रले आफ्नो शाखा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com