ओलीले भने, विकासको ढोका खुल्यो भनेर नयाँ सरकार बनेको दिन दीपावाली मनाउनू


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

काठमाडौं : वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले देशको आर्थिक विकास र जनताको पक्षमा काम गर्ने एमालेका अध्यक्ष केपी शर्मा  ओलीले प्रतिबद्धता व्यक्त गरेका छन्। वाम गठबन्धनको बहुमत आएको र भावी प्रधानमन्त्रीको रूपमा हेरिएका अध्यक्ष ओलीले नयाँ सरकार बनेसँगै देश विकासको मार्गमा अगाडि बढ्ने दाबी गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको नवनिर्वाचित कमिटीलाई शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा ओलीले भने, ‘अब आउने सरकार देशका निम्ति, आर्थिक विकासका निम्ति जनताका पक्षमा काम गर्छ।’ उनले नयाँ सरकार गठनसँगै देशमा खुसियालीको माहोल हुने बताए। ‘नयाँ सरकार बनेको दिन खुसियाली मनाउनुभए, दीपावली मनाउनु भए हुन्छ’, उनले थपे, ‘आयो अब विकासको दिन भनेर। (मिठाई) सबैलाई पुर्‍याउन सम्भव छैन, आफैँआफैँ किनेर खानुहोला।’ उनले नेपालका छिमेकी विकसित भएको र अझै विकासको गतिमा अगाडि बढिरहेकोले नेपाल पनि त्यसमा सहयात्री बन्ने सक्ने उनको भनाइ थियो।

ओलीले वर्तमान सरकारले गतल मनसायका साथ काम गरिरहेको आरोप लागएका छन्। उनले भने, ‘जनमत गुमाएको संविधान, कानुन, विधि विधानले, नैतिकताले गर्न नमिल्ने कामहरु गैरजिम्मेवार ढंगले सरकारले गरेको छ।’ यस्ता कामहरू आगामी बन्ने नयाँ सरकारले उल्ट्याउने उनले दोहोर्‍याए। उनले भने, ‘यस्ता कुराहरू भए पनि त्यसलाई आगामी सरकारले सच्याउँछ, आगामी सरकार संविधान, कानुनसम्मत, विधिको शासन मान्ने, लोकतन्त्रको मान्यताअनुसार चल्छ।’

ओलीले लोकतन्त्रको लागि लडेको भएकोले संविधान विपरीतका काम अस्‍वीकार गर्ने बताए। उनले भने, ‘बहुदल आउँदाको सरुसुरुमा पार्टीलाई १ लाइन टेलिफोन दिइन्थ्यो, त्यसैले धेरै पार्टी टेलिफोनका लागि खुले। हामी एक लाइन टेलिफोनका लागि खुल्या पार्टी होइन।’ ओलीले नयाँ सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने बताए। निजी क्षेत्रको अपव्याख्याका कारण उद्योग सिध्याउने काम भएको र अबको सरकारले त्यस्तो हुन नदिने उनको भनाइ थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com