किशोरको हत्यापछि उत्तरी भारतमा तनाव


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

दुईवटा समूहबीचको एउटा मुठभेडमा एकजना किशोरको ज्यान गएपछि उत्तरी भारतमा हिंसा फैलिँदा प्रहरीले ११२ जनालाई पक्राउ गरेको छ।

उत्तर प्रदेश राज्यको काशगञ्जमा एउटा मोटरसाइकल र्‍यालीमा दुई धार्मिक समूहका समर्थकहरूले एक आपसमा ढुंगा प्रहार गरेका थिए।

सप्ताहन्तमा हिंसा बढ्ने क्रममा पसल र सवारी साधनमाथि आगजनी गरिएको थियो।

उक्त हिंसालाई लिएर हिन्दु र मुसलमान समूहहरूले एक अर्कालाई दोषारोपण गरेका छन्।

अवस्था

भारतीय समाचार संस्था पीटीआइले एकजना प्रहरी अधिकारीलाई उद्धृत गर्दै अवस्था नियन्त्रणमा आएको उल्लेख गरेको छ।

उसले थप निगरानी बढाइएको र भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

अधिकारीहरूले दुई पक्षबीचको ढुंगा हानाहानमा उक्त किशोरको निधन भएको जनाएका छन्।

झडप कसरी शुरू भयो भन्ने चाहिँ प्रष्ट भइसकेको छैन।

आक्रमण

घाइते भएका एकजना मुसलमान किशोरको अवस्था पनि चिन्ताजनक रहेको बताइन्छ।

हिंसामा छोरा गुमाएका सुशील गुप्ताले बीबीसी हिन्दीसँग भने ,”युवाहरूको एउटा समूहले भारत अमर रहोस् भनेर नारा लगाउँदै आयोजना गरेको र्‍यालीलाई मुसलमान बहुल क्षेत्रमा त्यस्तो नगर्न भनिएको थियो जसका कारण गोली र ढुंगा हानाहान भयो। मेरो छोराले त्यसक्रममा ज्यान गुमाए। मलाई न्याय चाहिएको छ।’

ती किशोरको निधनपछि मुसलमान क्षेत्रमा आक्रमण गरिएको स्थानीय बासिन्दाले बताएका छन्।

थप हिंसा रोक्नलाई चारजना भन्दा बढी मानिसको भीड जम्मा हुन नपाउने नियम कार्यान्वयनमा ल्याइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com