पशुपति क्षेत्रमा साधुसन्तलाई पनि गाजा भाङमा प्रतिबन्ध


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

माघ १४, काठमाडौं । हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा गाजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

 

पशुपति क्षेत्र विकास कोषले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दुर्व्यसनीमा युवाहरुलाई फस्न नदिन पनि पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध गरिएको जानकारी गराएको हो ।

सरकारले प्रतिबन्ध लगाएका सबै खालका नशालु पदार्थ पशुपति क्षेत्रमा सेवन गर्न तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । कोषले महाशिवरात्रीको मुखैमा पशुपति क्षेत्रमा गाजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि सबैमा आहृवान गरेको छ ।

‘पशुपति क्षेत्र भनेको धार्मिक र आध्यात्मिक क्षेत्र हो । यहाँ गाजा भाङ धतुरो प्रयोग गर्ने र बिक्री वितरण गर्न प्रतिबन्ध छ । अबका दिनदेखि शिवरात्री र अरु पर्वमा राज्यबाट प्रतिबन्धित वस्तु पशुपति क्षेत्रमा सेवन गर्न पाइदैन’ सदस्य सचिव ढकालले भने ।

शिवरात्रीमा पशुपतिमा गाजा, भाङ खान पाइन्छ भन्ने गलग मान्यता बसेको भन्दै उनले यसलाई अन्त्य गरेर पशुपतिलाई साधना स्थल र ध्यान केन्द्रको रुपमा विकाास गर्ने बताए ।

कोषले साधुसन्तलाई पनि पशुपति क्षेत्र भित्र गाजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि आग्रह गरेको छ ।

‘साधु सन्तलाई पनि हामीले आग्रह गरेका छौं । साधुसन्तको आश्रममा पनि सेवन गर्न निरुत्साहित गरिनेछ । महाशिवरात्रीलाई अध्यात्मिक धरोहरकै रुपमा विकास गरिनेछ’ सदस्य सचिव ढकालले भने ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी वृत्त, गौशालाका डिएसपी अनुपम श्रेष्ठले कोषसँग मिलेर पशुपति क्षेत्रमा पनि नशालु पदार्थ सेवन रोक लगाउने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले नशालु पदार्थ सेवन गर्नेहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको पनि बताए ।

‘हामीले लागूऔषध सेवन गर्नेहरुविरुद्ध कारबाही कडा रुपमा अघि बढाएका छौं । कतिपय समयमा मानसिक रोगी र दीर्घरोगीसमेतलाई हामीले पक्राउ गरेका छौं’ उनले भने ‘यति रिस्कको वावजुद पनि हामी निरन्तर लागेका छौं । पुरै निर्मुल नभए पनि नियन्त्रण भने भएको छ ।’

पशुपति क्षेत्रमा महाशिवरात्रीमा खुलेआम गाजा, भाङ लगायतका नशालु पदार्थ सेवन गर्ने गरिन्थ्यो । अब भने त्यसो गर्न नपाईने कोषले स्पष्ट पारेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com