गुडिरहेको गाडीमा आगलागी


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

 

माघ १३, विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको भाउन्ने चोक नजिक शनिबार दिउँसो गुडिरहेको मारुती भेनमा आगो लागेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुती भेनमा एक्कासि आगो लागेको हो। ‘गाडी कुदाइरहेको अवस्थामा पछाडिबाट तातो राप आयो र पछाडि फर्केर हेर्दा गाडीमा आगो लाग्न सुरु भइसकेको थियो,’ चालक बद्रीप्रसाद ढकालले भने । उक्त भेनमा चालक मात्र सवार रहेकाले अन्य मानवीय क्षति नभएको डाँगीहाट प्रहरी चौकीका इन्चार्ज गजेन्द्रनारायण यादवले बताए। यादवका अनुसार चालकको लाइसेन्स, ब्लुबुक, मोबाइललगायत अन्य गाडीभित्र रहेका सामग्री जलेर पूर्णरूपमा नष्ट भएको छ। दमकल, प्रहरी र स्थानीयको प्रयासमा केही समयपछि आगो निभेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com