गिनिज बुकमा नाम लेखाउने ऋषिको सपना, आर्थिक अभावले अहिलेसम्म अधुरै


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२ , दाङ । तुलसीपुर उपमहानगरपालिका– ३ का ऋषि परियारलाई आफ्नो कला गिनिज बुकमा लेखाउने सपना छ। तर आर्थिक अभावले गर्दा उनले अहिलेसम्म त्यो सपना पूरा गर्ने सकेका छैनन्। हामीलाई सुन्दा अचम्म लाग्न सक्छ, खुट्टाले हिँड्दा त हामीलाई धेरै समस्या हुन्छ तर हात टेकेर उनी एक घण्टा १० मिनेटमा तीन किलोमिटरसम्म हिँड्न सक्छन्। २६ वर्षका परियार हातले हिँडेर लामो दूरी पार गरेर विश्व कीर्तिमान कायम गर्ने दौडमा छन्। तर आर्थिक अभावमा उनको विश्व कीर्तिमान कायम गर्ने सपना पूरा हुन सकेको छैन। तर पनि उनले हिम्मत भने नहारेको बताए। जसरी पनि विश्व कीर्तिमान कायम गरेरै देखाउने लक्ष्य लिएका परियार भन्छन्, ‘अहिले गिनिज बुकका लागि फारम भरेको छु, त्यसैको पर्खाइमा बसेको छु।’ हातले टेकेर लामो दूरीको यात्रा पार गरेर विश्व कीर्तिमान कायम गरेर देखाउने प्रक्रियामै रहेको उनले बताए।

उनले भने, ‘तर आर्थिक अभाव हुँदा प्रक्रिया अघि बढाउन समस्या परिरहेको छ।’ आफ्नो क्षमता देखाउने गिनिज बुकको कार्यालयबाट कर्मचारी नेपाल बोलाउँदा करिब १० लाख रुपैयाँ खर्च हुन्छ तर उक्त रकम आफूसँग नभएकाले आफ्नो गिनिज बुकमा नाम लेखाउने सपना पूरा नभएको उनले बताए। लण्डन जान धेरै पैसा लाग्ने भएपछि उनले नेपालबाट लाइभ गरेर भए पनि प्रतिस्पर्धामा सहभागी हुने उनले बताए। नेपालबाट अनलाइनमा लाइभ गरेर देखाउँदा करिब नौ लाख रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ। तर अहिले आर्थिक अभावले गर्दा प्रक्रिया अघि बढ्न नसकेको उनको गुनासो छ। समान्य दलित परिवारमा हुर्किएका उनका बुबासँगै उनी सिलाइको काम गर्छन्। तुलसीपुर– ३ राणागाउँ घर भएका उनी सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने गर्थे। उनी सानैदेखि जिम्न्यास्टिक, उफ्रने, दौडने खेल खेल्न बढी रुचाउँथे। १४ वर्षअघि उनको मनमा मानिस खुट्टाले त हिँड्छन तर हातले हिँडे कस्तो हुन्छ होला ? भन्ने प्रश्न खेल्न थाल्यो। उनले मनमा उक्त प्रश्न खेलाइरहन चाहेनन् अनि आफैँ हातले हिँड्ने अभ्यास गर्न थाले। अभ्यास गर्दै जाँदा उनले बिस्तारै हातले उभिन सिके। केही समयको प्रयासपछि विस्तारै विस्तारै हिँड्न सुरु गरे। यसरी प्रयास गर्दै जाँदा अहिले उनी हातले हिँड्न थालेको १४ वर्ष पुग्यो। १४ वर्ष लामो संघर्ष र प्रयासपछि उनी अहिले उकालो, ओरालोसमेत हिँड्न सक्ने भए। यही सीपलाई लिएर उनी विश्व कीर्तिमान कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन्। आफूले अठोट लिएको १४ वर्षपछि त्यसको परिणाम निस्कने गरी संघर्ष गरिरहेका छन् उनी। ‘हातले टेकेर विश्व कीर्तिमान कायम गर्छु भन्ने अठोट लिएर हातले हिँड्न सुरु गरेँ’, उनले भने। उनी सडकमा मात्रै होइन, उकाली आरोलीसँगै भर्‍याङमा पनि हात टेकेरै राम्रोसँग हिँड्न सक्छन्। हालसम्म आफ्नो एक लाखजति खर्च भएको परियारले बताए। विश्वमै दाङको नाम चिनाउने उद्देश्य रहे पनि घरको आर्थिक अवस्था कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताए। आफूले गिनिज बुकमा नाम लेखाउन सके दाङसहित समग्र नेपालको नाम विश्वमा चिनिने उनको भनाइ छ।

यस्तो कार्यका लागि सबैले सहयोग गरेमा मात्र हुने उनको धारणा छ। ‘दाङसहित नेपालको नाम विश्वमा चिनाउने लक्ष्य छ’, उनले भने, ‘यस कार्यमा सबैले हातेमालो गर्न सके सहज हुने थियो।’ सबै संघसंस्था, अग्रज, बुद्धिजीवी, व्यवसायीलगायतबाट सहयोगको अपेक्षा गरेको समेत उनले बताए। अहिले केही संघसंस्था तथा व्यक्तिहरूबाट ५०र६० हजार रूपैयाँ मात्रै संकलन भएको उनको भनाइ छ। घरको आर्थिक अवस्था कमजोर हुँदा आफ्नो क्षमता विश्व सामु पु¥याउन नपाउँदा भने उनी चिन्तित बनेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com