प्रचण्डले भने- राजाका मन्त्री भएर शोषण गर्नेहरू मधेसको मसिहा भएर हिँड्दै छन्


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासको लागि अब बन्ने सरकारले काम गर्ने बताएका छन्। शुक्रबार बिहान ललितपुर खुमलटारस्थित निवासमा राष्ट्रिय जनता पार्टी (राजपा) को विद्यार्थी संगठनका महासचिव चन्द्रभूषण साहसहित दर्जनौं केन्द्रीय सदस्यसहित विद्यार्थीहरूलाई पार्टी प्रवेश गराउँदै उनले मधेसलाई विगतमा गरिएका विभेदहरूको क्षतिपूर्ति वाम गठबन्धनको सरकारले विकास र समृद्धि गरेर दिने दाबी गरेका हुन्।

प्रचण्डले जनयुद्ध र मधेस आन्दोलनलगायत जनआन्दोलनबाट देशमा गणतन्त्र स्थापना भएको र देशले संविधानसभामार्फत संविधान प्राप्त गरेकोले अधिकार प्राप्तिका लागि क्रान्तिको आवश्यकता नरहेको बताए। उनले भने, ‘मधेसी, महिला, मुस्लिम, उत्पीडितलाई जुन अधिकार दिने सपना थियो त्यो पूरा त हुन सकेको छैन। तर, त्यसका लागि क्रान्ति नै गरिहाल्नुपर्ने स्थिति छैन।

शान्तिपूर्ण ढंगले नै संविधान संशोधनको माध्यमबाट बाँकी अधिकार प्राप्त गर्न सकिन्छ।’ उनले संविधान नै गतिशील दस्तावेज भएकोले अब क्रान्ति भन्दापनि देशको विकासमा लाग्नुपर्ने अवस्था आएको बताए।

प्रचण्डले जनयुद्धको सुरुआतका क्रममा आफू धनुषालगायतका क्षेत्रमा रामवृक्ष यादवसँग मिलेर तालिम लिएको स्मरण गर्दै मधेसको पक्षमा सुरुमा आवाज उठाएको स्मरण गरे। उनले आफूले लामो समय लडेर शान्तिप्रक्रियामा पनि मधेसी जनताको पक्षमा काम गर्दापनि मधेसी जनताले भने अर्कैतिर भोट हालेकोमा गुनासो गरे।

नेपाली समाजमा प्रचलित ‘काम गर्ने कालु मकै खाने भालु’ उखान हाल्दै भने, ‘अहिले प्रदेश २ मा हेर्दा लडाइँ लड्ने जनताको अधिकार दिलाउने एउटाले अनि हिजो राजा महाराजाको पालमा मन्त्री हुने त्यतिबेला पनि मधेसी जनतालाई नै शोषण गर्ने अत्याचार गर्ने मान्छेहरू अहिले मधेसको मसिहा जस्तो भएर हिँड्ने यो बडो विचित्र र विडम्बनाको स्थिति छ।’

राजपाको विद्यार्थी संगठनका महासचिव साह, तमलोपाका पूर्वविद्यार्थी उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थीसचिव ज्ञानकुमार कुशवाहा, मधेसी विद्यार्थी समाजका कोषाध्यक्ष वसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरू आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुंगेल, अमन श्रेष्ठ, निरज कुशवाहा, गायिका सोलिना कुँवर, संगीतकार सन्तोष राजलगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com