सुरक्षा कडाइबीच ‘पद्मावत’ प्रदर्शन, कैयौं विद्यालय बन्द


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

भारतीय चलचित्र निर्माता सञ्जय लीला भन्सालीको चर्चित एवम् विवादित चलचित्र ‘पद्मावत’को बिहीवार सार्वजनिक प्रदर्शन शुरु भएपछि भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

‘पद्मावत’ पाँच हजारवटा चलचित्रघरमा प्रदर्शन भइरहेको छ।

तर एउटा कट्टर हिन्दुवादी समूह करणी सेनाको विरोध प्रदर्शनका कारण चारवटा राज्यमा यो चलचित्रको सार्वजनिक प्रर्दशनी गरिएको छैन।

कतिपय स्थानमा हिंसात्मक विरोध प्रदर्शन भएका छन्।

बुधवार हरियाणाको गुरुग्राममा एउटा स्कुल बसमाथि ढुङ्गा प्रहार गरिएको थियो।

त्यसलाई लिएर ठूलो आक्रोश उत्पन्न भएको छ।

कडाइ

गुरुग्रामका अतिरिक्त राजधानी दिल्ली वरपरका शहरी इलाकामा हिंसाको डरले कैयौं विद्यालय बन्द गरिएका छन्।

कैयौं चलचित्रघर बाहिर सुरक्षाकर्मी तैनाथ गरिएका छन्।

तर सर्वोच्च अदालतको निर्देशन हुँदाहुँदै पनि कैयौं हिस्सामा अझै किन हिंसात्मक स्थिति छ भन्नेबारे प्रश्नहरु उठाइएका छन्।

उत्तराखण्ड र राजस्थानमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएका छन्।

१४ औं शताब्दीकी एक हिन्दु रानी र मुस्लिम शासकको कथा चलचित्रमा समेटिएको छ।

हिन्दु कट्टरपन्थी समूहहरुले उक्त चलचित्रले इतिहास तोडमरोड गरेको आरोप लगाएका छन्।

निर्माताले उक्त आरोपको खण्डन गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com