ओलीले बोलाए पत्रकार सम्मेलन, सरकारका निर्णय र समसामयिक राजनीतिबारे बोल्ने


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

काठमाडौं : निर्वाचनपछि काम चलाउ बनेको सरकारले गरेका निर्णयप्रति असन्तुष्टी राख्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन्। सरकारले गरेका काम र दूरगामी असर पार्ने निर्णय र समसामयिक राजनीतिबारे ओलीले आफ्ना धारणा राख्ने बताइएको छ।

सकारले दीर्घकालीन असर पार्ने निर्णयहरु गर्न थालेको भन्दै बिहीबार आकस्मिक विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

सरकारले बुधवार ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको छ। यस्तै प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने र त्यसमार्फत प्रहरीको सेवाअवधिमा हेरफेर गर्ने निर्णयमा सरकार रहेको छ।

यसैगरी सरकारले पछिल्लो पटक प्रदेश प्रमुखको नियुक्ति, अस्थायी मुकाम तोक्ने, भुकम्पपिडितलाई थप १ लाख दिने, कर्मचारीको सरुवा, नियुक्ति एवं बढुवा, विभिन्न बहानामा सहयोग रकम वितरण जस्ता निर्णयहरुबारे ओलीले धारणा राख्ने एमालेले जनाएको छ।  पत्रकार सम्मेलन बिहीबार दिउँसो ४ बजे एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com