नियम उलंघन गर्नेहरुलाई खोजीखोजी घर फर्काउदै जापान अध्यागमन


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

तीन वर्ष अघि विद्यार्थी भिषामा जापानको चिवामा आईपुगेकी काठमाडौँकी सलिना लामा भिषामा समस्या देखिएको भन्दै यहाँको अध्यागमन प्रहरीले पछयाउन थालेपछि एक महिना अघि नेपाल फर्किईन।

आफुले अध्ययन गर्दै गरेको सेनमन भोकेसनल कलेजले अनुमति वेगर नेपाल गएको कारण देखाउदै उनलाई कलेजबाट निष्काशन गरेको जानकारी गरायो। विना जानकारी नेपाल गएको भन्दै कलेजले उनीसंग एक वर्षको कलेज फि तत्काल तिर्न ताकेता गर्दा उनले केही समय माग गरिन तर कलेजले उनलाई अचानक निष्काशनमा परेको भन्दै कलेज नआउन भन्यो।

उनीपनि कलेज नगई भिषा अवधीसम्म जापान बसेर काम गर्दै पैसा कमाउने तयारीमा लागिन। तर यसको केही साता नवित्दै उनी अध्यागमन प्रहरी निगरानीमा परिन। अध्यागमन प्रहरीले लगातार उनी वस्दै आएको अपार्टमेन्ट मै आएर सोधिखोजी गरेको थाहा पाएपछि उनीमा शंका उत्पन्न भयो। बाकी रहेको एक वर्षे भिषा अवधीमा कलेज नगएर पनि केही कमाएर फर्कने योजना वुन्दा नवुन्दै अध्यागमन प्रहरीले सिधै फोन समेत गरेर भिषा सकिएका कारण जतिसक्दो चाडो नेपाल फर्किन भन्याे । र नर्फकिए पक्राउ गर्ने चेतावनी गरायो।

प्रहरीको यस्तो ताकेता देखेर उनी करिव नौ महिनाको भिषा त्यागेर नेपाल फर्किईन। कलेज प्रशासनले उनी निष्कासनमा परेको र भिषामा गरेको सिफारिस फिर्ता लिएको जनाएपछि सलिनालार्इ प्रहरीले खाेजी सुरु गरेकाे थियाे।

सलिना भन्दा फरक सात वर्ष अघि जापानमा पर्यटन भिषामा जापान प्रवेश गरेका झापाका विमल ओली पनि यसै महिना नेपाल फर्कदै छन। सात वर्षसम्म जापानमा शरणार्थी बन्न पाउ भनि लगातार गरेको अपील सुनुवाई नभएपछि गत महिना ओलीलाई पनि अध्यागमन प्रहरीले जनवरी भित्र जापान छाडन गरेको निर्देशन बमोजिम उनी घर फर्कदै छन।

ओलीले शरणार्थी भिषा त्यागेर जापानमै व्यापार व्यवसाय गर्ने भन्दै कम्पनी खडा गरेर भिषा परिवर्तन गर्न खोज्दा उनको स्रोत सहित व्यवसाय गर्नसक्ने आधारमा कुनै विश्वास गर्न नसकिने भन्दै ओलीलाई विकल्प दिदै घर नै फर्कन भन्यो। ओलीलाई अध्यागमन अधिकारीले जापान छोडन नचाहने भए जापानको उच्च अदातलमा मुद्धा दर्ता गरेर आफनो बसाई लम्वाउन सकिने विकल्प दियो। जापानको उच्च अदालतमा सामान्य मुद्धा दर्ता गराउन वकिल मार्फत जान करिव ६० लाख खर्च हुने देखिएपछि ओली घर फर्कन तयार भए।

बिराटनगरका सन्तोष कार्की पनि चार वर्षको औपचारिक भाषा र भोकेसनल पढाई सकेर कम्पनीमा काम गर्ने भिषा आवेदन गर्दा जापानको नियम विपरित विद्यार्थी समयमा सातामा २८ घण्टा भन्दा वढी काम गरेको भन्दै एक महिना भित्र नेपाल फर्किन । यो कारणले जापानमा शरणार्थी बन्न आवेदन नदिने सर्त गराएर कागज गरायो। कार्कीसंगै आएका विराटनगरकै अर्का सुरज राईपनि आवेदन दिएको कम्पनीमा भिषा परिवर्तन नहुने देखेर घर फर्कने तयारीमा छन।

उनीहरुलाई अध्यागमन कार्यालयले सिनागावा स्थित कार्यालयमै बोलाएर फर्किनुको विकल्प नभएको जनाएका थिए।

यस्तै डिपेण्डेन्ट भिषामा रहेर कामदार भिषामा रहेका श्रीमानको भन्दा धेरै काम गरेको भन्दै बाग्लुङ घर भएकी एक महिलालाई भिषा नविकरण गर्न मानेन। जापानमा सानो बच्चा समेत रहेकी उनलाई भिषा थप नगर्ने जानकारी दिएपछि उनी श्रीमानलाई जापान मै छाडेर बच्चा सहित नेपाल जाने तयारीमा जुटेकी छन।

लामा, ओली, कार्की र राई जस्ता धेरैले जापानमा पछिल्ला दिनमा विभिन्न भिषामा रहेर पनि जापानी नियम उलंघन गरेको भन्दै अध्यागमन कार्यालयको निगरानीमा परे। निगरानीसंगै प्रहरीले घर फर्किनु अन्तिम विकल्प भन्दै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com