अदालतले पत्याएन ‘डीएनए’ रिपोर्ट


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

काठमाडौं,माघ १०: डीएनए परीक्षण शतप्रतिशत अकाट्य रहेको वैज्ञानिक प्रमाण मानिए पनि बाबुछोरा बीचको ‘नाता कायम’ सम्बन्धी एक मुद्दामा अदालतले विधि विज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) को विश्वसनियतामाथि गम्भीर प्रश्न उब्जाउँदै यसको प्रतिवेदनलाई झुटा ठहर गरिदिएको छ। बाबुछोराको नाता हो या होइन भन्ने उक्त विवादमा ‘जैविक बाबु’ नरहेको भन्दै ‘नेगेटिभ’ प्रतिवेदन दिने गरी ल्याबबाट भएको निष्कर्षलाई उल्ट्याउँदै अदालतले भने उनीहरू जैविक ‘बाबुछोरा’ नै रहेको किटानसहित फैसला गरेको छ।

वंशजका आधारमा नागरिकता प्राप्तिका लागि एक अनाथले तनहुँ जिल्ला अदालतमा दिएको ‘नाता कायम’ मुद्दामा न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले फरेन्सिक ल्याबको प्रयोगशालामाथि नै गम्भीर प्रश्न उब्जाउँदै ‘अप्रिय’ भनेको छ। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छ ।

अदालतले आइन्दा डीएनए ‘टेस्ट’ विवादरहित र विश्वसनीय बनाउन ल्याबलाई निर्देशनात्मक आदेशसमेत दिएको छ। ल्याब स्रोतका अनुसार भदौ २० गते भएको उक्त आदेश संलग्न खामबन्दीसहितको पत्र केही दिनअघि ल्याबको केन्द्रीय कार्यालय खुमलटारलाई प्राप्त भएको छ। आफ्ना बाबु अमृत भनिने क्षेत्रबहादुर थापा रहे पनि आफूलाई छोरा अस्वीकार गरेका कारण नागरिकताबाटै वञ्चित हुनुपरेको दाबीसहित तनहुँ अरुणोदय फुचुङका मदन थापाले ०७१ वैशाखमा जिल्ला अदालतमा दिएको मुद्दामा इजलासबाट भएको आदेशअनुरूप गरिएको डीएनए परीक्षणमै चलखेलको आशंका देखिएपछि यस्तो आदेश दिइएको हो।

आफूलाई जन्म दिएर आमा मुक्तिसराले छाडेपछि मदन मामाघरमा बस्दै आएका थिए। बाबु विदेशमा रहेका कारण मदनका हजुरबा सन्तबहादुर थापाले ०५८ साल असार २१ गते गाविसमा जन्मदर्ता गरिदिएका थिए। ०५२ साल वैशाख ४ गते जन्मिएका मदन बालिग भएपछि नागरिकता लिने बेला बुबा र हजुरबाले नाता नै अस्वीकार गरेपछि यो विवाद अदालत पुगेको हो। उनका बाबुले मदन आफ्नो छोरा नै नभएको दाबी गरेका थिए भने हजुरबुबा मिलेमतोमा गाविस सचिवसमेतले जबर्जस्ती जन्मदर्ता गरिदिन बाध्य पारेको भन्दै अदालतमा प्रस्तुत थिए।

उक्त विवादमा अदालतले नाता खुट्याउन क्षेत्रबहादुर र मदनको डीएनए परीक्षणका लागि ल्याबमा पठाएको थियोे। तर, मुद्दाको सुनुवाइ हुने दिन क्षेत्रबहादुर पक्षीय बेसरोकारका संदिग्ध व्यक्ति किरण भट्टचन इजलासमै उपस्थित भएर प्रमाण आफ्नो पक्षमा आइसकेको भन्दै गोप्य रहने प्रतिवेदनको भेद खोलिदिएपछि घटनाले नयाँ मोड लिएको हो।

भट्टचनले ‘मदन थापाले मुद्दा जित्ने सवाल नै हुँदैन’ भन्दै बोलेको विषयलाई अदालतले गम्भीर शंकाको घेरामा राखेको छ। उनले इजलासमै डीएनएले मदनलाई नाता कायमका लागि समर्थन नगर्ने भविष्यवाणी गरेका थिए। भट्टचनलाई क्षेत्रबहादुरले आफ्ना साक्षीसमेत राखेका थिए।

सुनुवाइका क्रममा इजलासले भट्टचनलाई बाहिर जान गरेको ‘रुलिङ’ लाई समेत अवज्ञा गरेको फैसलामा उल्लेख छ। भट्टचन मुद्दा बोक्ने व्यक्तिसमेत रहेको र डीएनए परीक्षणलाई प्रभावित पार्न काठमाडौंसम्म पुगेर फर्किएको तथ्यसमेत खुल्न आएपछि अदालतले उनलाई पक्राउ आदेशसमेत जारी गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com