१३ मा बिहे, १५ मा आमा, १८ मा जागिर र २१ मा एकल : एक प्रहरी महिलाको जीवनगाथा


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

AMIR PARIYAR

एउटा महिलाले आफ्नो जीवनभर के कस्ता अनुभव सँगाल्छन्? बाल्यकाल, शिक्षा आर्जन, रोजगारी, विवाह, बालबच्चा, घरपरिवार। यति मात्रै होइन्– जीवनभरसँगै जीउने वाचा गरेका श्रीमानको स्वर्गारोहणपछि एकल महिला हुने अनुभव। यी सबै अनुभव महिलाले २१ वर्षमै भोग्नुपरेको छ, त्यो पनि ४० को दशकदेखि ६० को दशकसम्म ।

ती महिला हुन्– प्रहरी जवान सपना ऐरी। २१ वर्षमै श्रीमान गुमाएकी सपनाले अझैं जीवनमा धेरै गर्ने आशा सँगालेकी छन्। प्रहरी परिवारमा हुर्किएकी सपनाले भनिन्, ‘छोरालाई प्रहरी अधिकृत बनाउँछु। आफू प्रहरी संगठनको ड्यूटी कुशलतापूर्वक निर्वाह गर्छु र त्यसपछि समाज सेवामा लाग्छु।’ सपना ऐरीको तीतो अनुभव बाल्यकालदेखि नै सुरु भयो। २०४८ मा जन्मिएकी सपनाका आमाबुबा प्रहरी जागिरे भएकाले उनी मामाको घरमा बसेर हुर्किइन्। सपनाले आमाबुबाको संगत र माया पाउन सकिनन्। पछि बुबा र आमा छुट्टिएर बस्न थालेपछि बुबालाई देख्नसम्म पनि विरलै पाउन थालिन्। आमाबुबाले अन्तरजातीय विवाह गरेकाले अभिभावकले समेत घरपरिवारबाट टाढा बस्नुपरेको थियो। अन्तरजातीय विवाहको पीडा सहेकी आमाले सपनाको विवाह १३ वर्षको कम उमेरमै गरिदिइन्। ‘एउटा नारीका लागि जीवन साथीसँग रमाउने, दुःखसुख साट्ने, सँगै जीउने ठूलो रहर हुन्छ,’ प्रहरी जवान सपनाले भनिन्, ‘ती सबै रहर २१ वर्षको उमेरमा सकियो, श्रीमानको स्वर्गारोहणपछि जीवनमा धेरै समस्या आएपनि मैले संघर्ष गरिरहेँ ।

२०६९ असार १५ गते धनगढी गणस्थित ब्यारेकमा ड्यूटी गरिरहेका बेला सपनाले श्रीमान जयकिशन चौधरी कञ्चनपुरको वुटावारीमा मोटरसाइकल दुर्घटनामा परेको खबर सुनिन्। शुक्रबारको दिन सपना छोरालाई स्कूलबाट लिएर कोठामा पुगेकी थिइन्। उनले सम्झिइन्, ‘बेलौरीमा उहाँको साथीको बहिनी बिरामी भएकी रैछन्। साथीले बेलौरी जान जिद्धी गरेपछि धनगढीबाट हिँडेछन्। दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए।’ मोटरसाइकल तीव्र गतिमा भएकाले दुर्घटनामा सपनाका श्रीमानको ज्यान गयो।

२१ वर्षकै उमेरमा एकल भएपछि केही महिना सपनाले जीवनसँग हार खाइनन्। ‘२५ दिनको बिदा लिएर मैले श्रीमानको देहान्तपछिका सबै कर्म गरिसकेर पुनः कामका फर्किए,’ उनले भनिन्, ‘छोरा गुमाएका सासु–ससुराले बुहारी हामीसँग बस्दिन होला साचेका रैछन्।’ बिहे गर्ने उमेर भर्खर भएको बेला एकल भएकी सपनाले पूरा जीवन सम्हाल्नु थियो। त्यसै अनुरुप सपनाले जीवन भोगाईका क्रममा आम एकल महिलाले भोग्ने समस्या भोग्दै घरपरिवार, सासुससुरा र छोराको भविष्यका लागि संघर्ष गरिरहिन्। एकल महिलालाई हेर्ने समाजको दृष्टिकोणसामु सपना कहिल्यै पनि निराश भइनन्। घरपरिवारबाट साथ सहयोग पाएको भएपनि कामका दौरानमा साथीले गर्ने कुराले मन दुख्न लाग्यो। ‘श्रीमान बितेपछि मेरो घरमै आएर केही व्यक्तिले सासु आमालाई तपाईको बुहारी कहाँ गइन्, के गर्छिन् भनेर सोध्न थाले,’ उनले भनिन्, ‘आफूले कमाएको तपाईलाई दिन्छे कि नाई भनेर समेत सोध्न थाले छन्।’ सपनाको बुझाईमा एकल हुनु भनेको महिलाको जीवन समाप्त भएको होइन। तर, समाजले एकल महिलालाई विचरा ठान्छ। ‘कतिपय सुझाव दिने व्यक्तिले भन्ने गरेका छन्– चौधरी समुदायमा श्रीमान बनाएर राख्ने चलन पनि छ, तिमी किन एक्लै बस्छौ ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com