अफगानिस्तानस्थित सहायता संस्थामा हमला


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

अफगानिस्तानमा रहेको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था सेभ द चिल्ड्रेनको कार्यालयमा भइरहेको हमलामा कम्तीमा ११ जना घाइते भएका छन्।

त्यहाँका अधिकारीहरूले जलालावादस्थित उक्त कार्यालयको हातामा विस्फोटन भएको बीबीसीलाई बताएका छन्।

बन्दुकधारीहरू त्यसपछि उक्त कार्यालयको भवनमा प्रवेश गरेका थिए।

स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक चलेको आवाज उक्त क्षेत्रमा सुनिएपछि नजिकैको विद्यालयका बालबालिकाहरू भागिरहेको देखिएको जनाएका छन्।

निसाना

ती हमलाकारी को हुन् भन्ने खुलेको छैन। त

र जलालावादलाई धेरैजसो तालेबान लडाकुहरूले निसानामा पार्ने गरेका छन्।

काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारी प्रवेश गरेर हमला गरेको केही दिनमै यो अर्को हमला भएको हो।

उक्त हमलामा परी कम्तीमा २२ जनाको ज्यान गएको थियो।

बुधबार स्थानीय समय अनुसार विहान करिब ९ बजेतिर एकजना आत्मघाती बम हमलाकारीले सेभ द चिल्ड्रेनको हातामा कार बम विस्फोट गराएको प्रान्तीय सरकारका प्रवक्ताले जनाएका छन्।

अफगानिस्तान

भीडन्त

एएफपी समाचार संस्थाका अनुसार बम विस्फोट गराएपछि हतियारधारीहरूको समूह भवन भित्र छिरेका अधिकारीहरुले जानकारी दिएका छन्।

हमलामा परी घाइते भएका ११ जनालाई उपचारका लागि अस्पताल पुर्याइएको पनि ती प्रवक्ताले जनाए।

हमलाकारीहरू र सुरक्षा फौजबीचको भीडन्त अझै जारी रहेको उनले बताएका छन्।

उक्त घटनाबारे थप विवरणहरू आउन बाँकी छन्।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com