रुकुमका महिला जुटे, अल्लो प्रशोधनमा


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

 

माघ १०, रुकुम । हिउँदेबाली लगाइसकेपछि प्रायः कृषक फुर्सदमा हुन्छन् । तर, पुथाउत्तरगङ्गा गाउँपालिका–५ राङ्सीकी लालकुमारी बुढा, धनमाया बुढा, मीना रोका, तुल्मा कामी, भोकमरी रोका, चन्द्रकला बुढा, सीता बुढालगायत महिलालाई भने कामको चटारोले छोडेको छैन ।

खेतीपातीको काम सकेलगतै स्थानीय जङ्गलमा पाइने बहुमूल्य वनस्पति अल्लो भित्र्याउने समय आएकाले उनीहरूलाई आजभोलि कामले भ्याइनभ्याइ भएको हो ।

स्थानीय महिला लालकुमारी बुढाका अनुसार दिनभर अल्लो थन्काएपछि साँझपख मात्र घर फर्किन्छिन् ।
आजभोलि जङ्गलमा उत्पादन भएको अल्लो भित्र्याउन चटारो छ भने फागुन चैतमा अल्लो प्रशोधन गरेर कपडा बुन्ने हुनाले वर्षभर नै उनी फुर्सदमा बस्न नपाउने धनमाया बुढाले बताइन् । धनमायाका अनुसार उनले यसैबाट वार्षिक ३ लाख रुपैयाँसम्म कमाउन थालेको बताइन् । अल्लोबाट बुनेका कपडा बलियो हुने हुनाले रुकुमका बजारमा यसको माग बढ्दो छ ।

श्रीमान् गुमाएपछि बालबच्चाको लालनपालनको जिम्मा पाएकी मीना रोकाले यसैबाट २ छोरालाई बोर्डिङ स्कूलमा पढाउन थालेको बताइन् । उनले वार्षिक १ लाख ५० हजार रूपैयाँ बचत गर्ने जानकारी दिइन् । जाँगर र मेहनत भए विदेशको कमाइ आफ्नै गाउँमा हुन्छ भन्ने उदाहरण यहाँका महिलाले देखाएका छन् । उनीहरू मात्र होइन, रुकुम पूर्वका अधिकांश क्षेत्र कोल, हुकाम, तकसेरा जाङ, रन्मामैकोटलगायत १ दर्जनभन्दा बढी गाउँका महिलाको आर्थिक उत्पादनको स्रोत अल्लो बनेको स्थानीय शिक्षक टोपबहादुर खत्रीले बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com