रूपन्देहीका सबै सिमेन्ट र छड उद्योगमा मूल्य वृद्धिको विरोधमा तालबन्दी


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

माघ ९, बुटवल – विकास निर्माणलाई नै प्रभाव पार्ने गरी अस्वभाविक मूल्य वृद्धि गरेको भन्दै युवा संघ नेपाल रूपन्देहीले जिल्लामा सञ्चालित सबै सिमेन्ट र छड उद्योगमा तालाबन्दी गरेको छ । युवा संघ रूपन्देहीका अध्यक्ष नकुल शाही ठकुरी नेतृत्वको टोलीले मंगलबार साँझ ११ वटा सिमेन्ट र छड उद्योगमा तालाबन्दी गरेको हो ।

शाहीले विना कारण विकास निर्माण कार्य ठप्प हुने गरी मूल्य वृद्धिगरिएको भन्दै बढाइएको मूल्य फिर्ता नहुँदासम्म तालाबन्दी नखोल्ने बताए । भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित जगदम्बा, वृज, पाठक, सुप्रिम, सिद्धार्थ, अग्नि अर्घाखाँची, गोयन्का र अम्बुजा सिमेन्ट तथा अब्बे र पञ्चकन्या स्टीलमा तालाबन्दी गरिएको शाहीले जानकारी दिए ।

यहाँका सबै उद्योगबाट गरी दैनिक २५ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ । मंसिर अन्तिम सातादेखि सिमेन्ट र छडमा उद्योगीहरूले १० देखि ३० प्रतिशतसम्म मूल्य बढाएका छन् । निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि ठेकेदार कम्पनीहरूले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण कार्य ठप्प पार्ने चेतावनी दिँदै आएका छन् ।

‘कच्चा पद्धार्थ अभाव छैन । के कारणले मूल्य वृद्धि भयो त्यसको स्पष्ट कारण नदिएसम्म ताला खोलिँदैन,’ शाहीले भने ।

संघको तालाबन्दीमा वाईसीएल रुपन्देहीले पनि ऐक्यबद्धता जनाएको छ । मूल्य वृद्धिको विरोधमा यहाँका हार्डवेयर व्यवसायीहरू पनि आन्दोलनमा छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com