दलित बस्तीमा घर बनाइरहेका धुर्मुस सुन्तली तनावमा, करोडभन्दा बढी रकम अभाव


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

रौतहट,माघ ९ –रौतहटको सन्तपुरमा बाढी प्रभावितका लागि बनिरहेको एकीकृत नमुना बस्ती निर्माणका लागि रकम अपुग भएको छ । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको दलित नमुना बस्तीका लागि १ करोड रुपैयाँभन्दा बढी अपुग भएको सीताराम कट्टेल ‘धुर्मुस’ ले बताएका छन् ।

उनले सहयोगी मनहरुलाई सहयोग गर्नका लागि पनि आग्रह गरेका छन् । सहयोग रकम आइरहेको भए पनि अझै अपुग भएको धुर्मुसको भनाइ छ । पछिल्लो समय बस्ती निर्र्माणका लागि रकम अभाव भएको कुरा उनले सामाजिक सञ्जालमा पनि राखेका छन् । नमुना बस्ती निर्माण गरिरहेका यी कलाकार जोडीले एक करोड रुपैयाँ बराबर श्रम र सामान उधारोमा चलाउनुपरेको पनि बताएका छन् ।

उनले बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ । बस्तीका घरमा रंगरोगन, बिजुली जोड्ने, भित्री बाटो तयार पार्ने, पर्खाल र उद्यान निर्माण, झ्यालढोका तयार पार्ने काम चलिरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । बस्तीमा ४७ घर बन्नेछन् । विद्यालय भवन, बाल उद्यान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावरसहितको एकीकृत नमूना बस्ती निर्माण हुनेछन् । एकीकृत नमुना बस्ती सन्तपुरको विद्यालयमा ९२ बालबालिका शिक्षा लिइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com