कांग्रेस र संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गर्दै राजपा


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

काठमाडौं, ८ माघ । राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल, काँग्रेस र संघीय समाजवादी फोरम नेपालसंग तालमेल गरेर जाने भएको छ । राजपाको राजनीतिक समितिसहित बसेको अध्यक्ष मण्डल बैठकले काँग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनमा काँग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको तथा दुई दलसँग वार्ता गरेर सिट बाँडफाँडको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई दिइएको पार्टी नेता केशव झाले बताए ।

आगामी माघ २४ गते सम्पन्न हुने राष्ट्रियसभाको निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ । सोही योजनाअनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबारनै काँग्रेस नेतृत्वसँग राष्ट्रियसभाको सिट बाँडफाँडका विषयमा औपचारिक छलफल अघि बढाएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा कम्तिमा ५ सिट आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव काँग्रेससँग राखेको छ । नेता झाका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग पनि चुनावी तालमेलको बारेमा पार्टीका अध्यक्ष मण्डलले औपचारिक, अनौपचारिक छलफल गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com