छोरा मैले तिमीलाई चाहेको जति समय दिन् सकिछैन, माफ गर : ड्राइभर रेबिका


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

आमा हुन् रेविका थापा, एक वालककी । तर, समाजमा कठोर भनेर परिचित पेशामा रहेकाले आमा जस्ती लाग्दिनन् उनी । कोमलता जनाउने पहिरन भनी समाजले छुट्याएको पहिरन, न चुरा, न पोते, आँखामा न त गाजल नै । मानसिक कोमलता बाहेक उनी पूरै लोग्ने मान्छे देखिन्छिन्

झिसमिसे बिहानमै लगनखेल बसपार्क नजिक उनको डेरामा पुग्दा उनी भर्खर नुहाएको चिसो कपाल फिजारेर बाथरुमबाट निस्केकी थिइन् । कपाल झ्टारिन् उनले र भनिन्– ‘जहिल्यै हतार हुन्छ, आज पनि ढिलो हुन लागिसक्यो ।’ उनी इसिमोडको स्टाफ बसकी चालक हुन् । यसअघि साझा बस चलाउँथिन् । आज पनि बिहान ५ बजे नै अफिस बस चलाउन हिंड्न हतारिएकी थिइन् उनी ।

बोली नरम भए पनि शारीरिक भाषा उनको कठोर जस्तै लाग्छ । किन उनी कठोर देखिन्छिन् त ? ‘जीवनमा पाएको हन्डर ठक्करले कडा बनाएको हुनु पर्छ’ उनले भनिन् । बाबुको अनुहार कस्तो थियो, उनलाई थाहा छैन, बिवाह लगत्तै आमाको पनि निधन भयो । बिबाह पछि सहनै नसक्ने ब्याबहारले श्रीमान छाडिन् उनले ।

सबैलाई छाडेर आफ्नै संघर्षले बाँच्ने निर्णय गर्दा उनको काखमा दूधे वालक थियो । स्रोत साधनले रित्तो भएकी रेविका साथमा त्यही दूधे वालक लिएर काठमाडौं छिरिन् ।

काठमाडौं छिरेको १२ वर्षपछि रेविकाको बसाई कुनै सम्पन्न मानिसको झैं लाग्छ । ५ कोठाको सुविधासम्पन्न फ्ल्याटमा उनी बस्छिन् छोराका साथमा ।

रेविकाले चिया बनाएर दिइन् र एकैछिनमा उनी पुरुष पोषाकमा देखिइन् । आँखामा गाजल थिएन तर, एउटा आकर्षक गगल्स थियो । ओठमा गुलावी लिपकेयर थियो तर, अरु सबै भेष पुरुषको जस्तै ।

छोरालाई खाना पकाएर खानु भन्दै निस्किइन् उनी स्कुटर लिएर । स्कुटर अफिसमा छोडेर स्टाफ बोक्ने ठूलो गाडी चलाउँदै दिनभरी घुमिरहेकी हुन्छिन् उनी ।

बुबाकी कान्छी श्रीमतीको एक्ली छोरी रहिछन् । चार कक्षासम्म जसो तसो पढिन् । बिहे लगत्तै आमाको निधन भयो र श्रीमानसँग पनि मन मिलेन । ‘श्रीमान असाध्यै खराव पर्यो । कोखमा बच्चा आएकोले तत्काल निस्किन सकिनँ’ विगत सम्झंदै उनले भनिन् । बाँच्ने ठाउँ खोज्न काखको वच्चा छोडेर काठमाडौं आउँदाको मानसिक कष्ट उनले बिर्सन सकेकी छैनन् ।

काठमाडौंमा उनलाई ओत दिने कोही थिएन । यहीँ आएर चिनजान भएकी एकजना महिलासँग उनले दोस्ती गाँसिन् र उनैको साथमा बसिन् । ‘तिनै दिदीले टेम्पो चलाउन सिक भन्नु भयो तर सजिलो रहेनछ’ उनले भनिन् । टेम्पो सिक्न कुनै प्राविधिक कारणले असजिलो भएको भने होइन ।

असजिलो हुनुको कारण उनी महिला हुनु थियो । ‘केटाहरु ओहो क्या च्वाँक ! भन्दै पछि पछि लाग्ने । मलाई असुरक्षित भएँ कि जस्तो लाग्यो अनि छोडिदिएँ’ उनले भनिन् । अनि उनलाई तिनै दिदीले कार कार चलाउन सिक्न सल्लाह दिइन् ।

‘कुनै अफिसको वा घरको कार चलाउन पाइन्छ भनेर कार सिक्न ड्राइभिङ सिक्न स्कुल गएँ । त्यहाँ कार र टेम्पो दुबैको लाइसन्स लिएँ’ आफ्नो ड्राइभर जिन्दगीबारे यसरी वताइन् उनले ।

यसबेलासम्म उनले छोरालाई काठमाडौ ल्याएर किष्ट लर्ड स्कुलमा नर्सरीमा भर्ना गरेकी थिइन् । उनी भिने कार चलाउन सिके पनि एउटा चर्चमा काम गर्थिन् र त्यसैले गुजारा गर्थिन् ।

छोरो ठूलो हुदै थियो । छोराका लागि पनि धेरै कुरा गर्नुपर्ने थियो । उनका हातमा लाइसन्स त थियो तर त्यो बेला केटी मान्छेलाई गाडी चलाउन कसैले बिश्वास गर्दैनथे ।

तर, आशाको त्यान्द्रो पलायो उनको पेशामा, बटुक भैरव ग्यारेजको साहुले उनलाई टेम्पो चलाउन दिए । ‘उहँको गुन कहिलै बिर्सन्न, बटुक भैरव ग्यारेजको साहले उहाँको टेम्पो चलाउन दिनुभयो, टेम्पो मात्रै होइन त्यसैको कामइले जीवन कुदाउने बाध्यता थियो मलाई’ उनले भनिन् ।

त्यो बेला टेम्पो लगनखेल बाट नख्खु दोबाटो हँुदै रत्नपार्क जान्थ्यो । एक पटक पुगेर आउदा एक घन्टा लाग्थ्यो । स्कुल नभएको बेला उनी छोरालाई कोठामा थुनेर जान्थिन् ।

‘कोठामा छोरालाई छोडेर राती नै हिंड्थे म, एक राउण्ड टेम्पो घुमाएर बसपार्क आएपछि गाडी लाइनमा राखेर दगुर्दै छोरो हेर्न जान्थँे’ उनले ती दिनका दुःख सम्झिइन्, ‘भित्र पसेर केहीबेर छोरालाई सुम्सुम्याउथेँ, छातीमा टास्थेँ ।

कहिले म पुग्दा निदाइराखेको हुन्थ्यो । उ नबिउझिने गरी बिस्तारै गालामा म्वाई खान्थेँ छेवैमा खानेकुरा राखिदिएर टेम्पो चलाउन फर्किन्थेँ ।’

उनी हरेक दिन छोराको लागि राती नै खाना बनाइदिएर हिडथिन् । छोरा कतिसम्म ज्ञानी थियो भने आमाले खाना ठिक्क पार्न नभ्याए मुडा राखेर खाना निकालेर खाएर खान्थ्यो र ढोकामा चाबी लगाएर स्कूल जान निस्कन्थ्यो ।

छोराको कक्षाका अरुले अभिभावकको औंला समाउँदै स्कूल आएको देख्दा र आफ्नो छोरा यस्तो दुःखका साथ पढ्न गएको देख्दा रेविकाको मुटु फुट्लाजस्तो हुन्थ्यो । तर छोरा सधैं कक्षामा प्रथम भयो ।

‘निस्कंदा मनमनै भन्थेँ– ‘छोरा मलाई माफ गर ! मैले तिमीलाई न दूध खुवाउन पाएँ, स्कूल नै पुर्याएँ । म एक्लै कति रुँन्थेँ कति’ यति भन्दा अहिले पनि रोइन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com