मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई दिने भनिएको मासिक ५ हजार भत्ता अर्थ मन्त्रालयले रोक्यो


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

माघ ८, काठमाडौं । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ। तर, अर्थ मन्त्रालयले भत्ता वितरणका लागि स्पष्ट मापदण्ड नभएको भन्दै रोकिदिएको छ।

स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि नै बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको थियो। अर्थले कुनै पनि कार्यविधि नभएको र हचुवाको भरमा रकम दिन नमिल्ने भनेपछि भत्ता वितरण अन्यौलमा परेको छ।

पुष १३ गतेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो। यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गर्ने निर्णय भएको थियो।

तर, अर्थले हचुवाको भरमा रकम नदिने भनेपछि स्वास्थ्य मन्त्रालय बल्ल कार्यविधि बनाउन व्यस्त भएको छ। स्वास्थ्य मन्त्रालयले नेपालमा यस्ता बिरामीको संख्या लगभग २ लाख जति रहेको जनाएको छ। दुई लाखलाई मासिक ५ हजारको दरले भत्ता दिँदा अर्थतन्त्रले धान्न नसक्ने र भत्ता के कस्तो आधारमा दिने भन्ने कार्यविधि तथा मापदण्ड समेत नभएको भन्दै अर्थले स्वास्थ्यको फाइल फर्काइदिएको छ।

अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ।

स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषद्ले सोही प्रस्ताव पास गरेको हो।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ। यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com