आफूलाई अमेरिकी आर्मी बताएर नेपालीसँग पैसा ठग्न खोज्नेदेखि साबधान


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

आफूलाई अमेरिकी सेनामा कार्यरत रहेको बताउदै एकजना नक्कली फेसबुक प्रयोगकर्ताले कैयन नेपालीहरुसँग रकम ठग्न खोजेको छ । उक्त ठगले हान्ना मिशेलको नामबाट फेसबुक आईडी बनाएर प्रोफाइलमा युवतीको तस्वीर राखिएको फेसबुक एकाउन्टबाट आफूलाई एड गरेर च्याटमा रकम माग्ने गरेको छ ।

आफूले १ मिलियन डलर पठाउने तर त्यसका लागि सुरुमा आफूलाई ५ हजार डलर पठाउनुपर्ने भन्दै नक्कली फेसबुक प्रयोगकर्ताले नेपालीलाई ठग्न खोजेको हो । आफू अमेरिकी नागरिक रहेको र अफगानिस्तानमा कार्यरत रहेको भन्दै उक्त प्रोफाइलबाट रकम मागिएको हो । उक्त नक्कली फेसबुकको कभर फोटोमा अमेरिकी सेनामा कार्यरत युवतीको तस्विर समेत राखिएको छ ।

प्रोफाइल हेर्दा अरु नेपालीहरुलाई समेत फेसबुकमा साथी बनाएर ठग्न खोजेको स्पष्ट देखिन्छ । उसको फेसबुकमा आएको लाइक हेर्दा दर्जनौं नेपालीहरुलाई साथी बनाएको देखिन्छ तर साथीको सुची भने गोप्य राखिएको छ । उक्त नक्कली फेसबुक एकाउन्ट केही साता अगाडिमात्र खोलेको देखिन्छ ।

यसअगाडि पनि फेसबुकमा नक्कली आईडी बनाएर रकम ठग्ने व्यक्तिहरु सकृय रहदै आएका थिए । उनीहरुले विभिन्न प्रलोभन देखाएर रकम माग्ने गर्दै आएका छन् । यसरी ठग्नेमा युवतीहरु समेत सकृय रहेका छन् । केही अगाडि न्युयोर्कमा रहेका एकजना नेपालीलाई फेसबुकमा एड गरेर क्यामसेक्स गर्न लगाएपछि उक्त भिडियो फेसबुकमा पोष्ट गर्दै युवतीबाट रकम मागिएको थियो । रकम नदिएसम्म फेसबुकबाट भिडियो नहटाउने बताउदै ती नेपालीलाई ब्लाकमेल गर्न खोजिएको थियो ।

त्यस्तै अनलाईनमा आफूलाई युवती बताएर च्याट गर्ने एकजनाले न्युयोर्कमा नै रहेका नेपालीलाई यौनसम्पर्कका लागि घरमा बोलाएर लुटेका थिए । घरमा बोलाउदा त्यहाँ युवती नभई अश्वेत लुटेराहरु रहेका थिए । अश्वेत लुटेराबाट लुटिएका ती नेपालीको मुद्दा अदालतसम्म नै पुगेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com