सरकार सटडाउनबाट प्रभावित हुनेहरु संख्यामा


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

अमेरिकी सरकार सटडाउनको असर सोमबारबाट लाखौं अमेरिकीहरुमा पर्ने देखिएको छ । झण्डै ९० लाख बालबालिकाहरुले पाउदै आएको चिल्ड्रेन हेल्थ इन्सुरेन्स प्रोग्राम चिपको समयअवधि मार्चबाट सकिन लागेकाले यो कार्यक्रमका लागि फण्ड उपलब्ध नभएमा मार्चपछि ९० लाख बालबालिकाको स्वास्थ्य विमा समाप्त हुनेछ । त्यसैले ९० लाख बालबालिकाको स्वास्थ्य विमा के हुने भन्नेमा अन्यौल छ ।

सोमबारबाट झण्डै साढे ८ लाख कर्मचारी अनिवार्य विदामा बस्नुपर्ने भएकाले उनीहरुले सोमबारदेखि सरकारी कामकाज गर्नेछैनन् । जसको असर प्रत्यक्ष रुपमा जनतामा समेत पर्नेछ ।

सरकार सटडाउनबाट डाका कार्यक्रमबाट संरक्षित झण्डै ७ लाख कागजपत्रविहिन आप्रवासीमा असर पर्नेछ । मार्च ५ सम्म उनीहरुको विषयमा संसदले टुंगो लगाउनुपर्नेमा अहिले उनीहरुको भविश्य के हुने भन्नेमा अन्यौल रहेको छ ।

सरकार सटडाउनका कारण झण्डै १३ लाख सकृय अमेरिकी सेनाले तलब नपाइकनै काम गर्नुपर्नेछ । उनीहरुले आफ्नो काम नियमित गर्नुपर्नेछ तर तलब भने सरकार सटडाउनको अवधिभर पाउनेछैनन् ।

सरकार सटडाउनका कारण ४१७ वटासम्म नेशनल पार्कहरु बन्द हुनसक्नेछन् । यद्यपी ट्रम्प प्रशासनले सम्भव भएसम्म नेशनल पार्कहरुमा पहुच कायम गर्ने प्रयास गरिरहेको छ । तर कर्मचारीहरु बिदामा बस्ने भएकाले अधिकांश नेशनल पार्कहरु पूर्णरुपमा बन्द हुनेछन् ।

त्यस्तै १९ वटा स्मीथसोनियन संग्राहालयहरु पनि बन्द हुनेछन् । कैयन चिडियाखाना र अन्य संग्राहालयहरु पनि बन्द हुने भएकाले त्यहाँ जानुअघि बन्द भए नभएको सुनिश्चित गर्नका लागि फोन गरेरमात्र जान अनुरोध गरिएको छ ।

यसअघि सटडाउनका बेला वासिंटन डिसीमा फोहोर समेत उठाइएको थिएन । तर ताजा नियम अनुशार सट डाउनको बेलामा पनि मेयर कार्यालयले वासिंटन डिसीमा फोहोर भने उठाउनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com